

खाद्य कम्पनीसँग १३ हजार मेटन चामल मौज्दात

काठमाडौं – सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १३ हजार मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार खाद्यसँग १३ हजार ४०४ मेट्रिक टन चामल मौज्दात छ ।
उक्त तथ्यांकमध्ये कम्पनीले बोलपत्र आह्वान गरेर खरीदको तयारी गरेको पाँच हजार मेट्रिक टन चामलसमेत रहेको जनाइएको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ७३१ र काठमाडौंमा दश हजार ६७८ मेट्रिक टन चामल मौज्दात छ ।
कम्पनीसँग चार हजार ३८८ क्विन्टल गहुँ मौज्दात छ । यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ६९७ मेट्रिक टन नून गरी एक लाख ५४ हजार ८८१ मेट्रिक टन मौज्दात छ ।
मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग सात सय १४ र निजी क्षेत्रसँग पचास हजार २११ मेट्रिक टन गरी पचास हजार ९२५ मेट्रिक टन चिनी मौज्दात छ ।

