
२० मिलियन डलरको नीति संवाद : बालेन, रवि, सागर र सुदन अमेरिकी परियोजनाका राजनीतिक उत्पादन हुन् ?
काठमाडाैं – नेपालको राजनीतिमा पछिल्ला केही वर्षमा एकपछि अर्को नयाँ अनुहार असाधारण गतिमा शक्तिमा पुगे। बालेन्द्र शाह, रवि लामिछाने, सागर ढकाल र सुदन गुरुङ—यी नामहरू आज नेपालको नयाँ राजनीतिक शक्तिसँग जोडिएका छन्। तर प्रश्न उठ्छ—यी सबै राजनीतिक उदय केवल संयोग थिए?
अमेरिकी सहयोग नियोगको आधिकारिक दस्तावेजअनुसार सन् २०१७ देखि २०२२ सम्म नेपालमा “नीति संवाद” नामको पाँच वर्षे कार्यक्रम सञ्चालन भयो। यसको बजेट दुई करोड अमेरिकी डलर थियो। कार्यक्रमको उद्देश्य राजनीतिक सहभागिता, राजनीतिक दल, संसद्, निर्वाचन र नयाँ नेतृत्वको क्षमता विकाससँग सम्बन्धित थियो। त्यसपछि अर्को प्रश्न उठ्छ- दुई करोड अमेरिकी डलर खर्च भएको त्यो कार्यक्रमले नेपालमा कस्ता नयाँ राजनीतिक नेतृत्व पहिचान गरिरहेको थियो?
यही प्रश्नले आज अझ गम्भीर बनाएको छ अमेरिकी खोजमूलक सञ्चारमाध्यम द ग्रेजोनले सार्वजनिक गरेको भनिएको कागजातले।
ग्रेजोनको दाबीअनुसार सन् २०१९ को निर्वाचन तथा राजनीतिक प्रक्रिया सुदृढीकरणसम्बन्धी कार्ययोजनामा रवि लामिछाने, बालेन्द्र शाह, सागर ढकाल र सुदन गुरुङलाई “परिवर्तनकारी नागरिक नेतृत्व” का रूपमा सहयोग गर्ने व्यक्तिहरूको सूचीमा राखिएको थियो। ई चारै जना आज नेपालको नयाँ राजनीतिक शक्तिको केन्द्रमा कसरी आइपुगे?
किन पुराना दलको विकल्प खोज्ने समयमा यिनै पुस्ताका पात्रहरू एकपछि अर्को राष्ट्रिय राजनीतिमा स्थापित भए?
सागर ढकालले शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरे। बालेन्द्र शाहले स्थापित राजनीतिक दललाई चुनौती दिँदै काठमाडौँको मेयर जिते। रवि लामिछानेले पुराना दललाई चुनौती दिँदै नयाँ पार्टी बनाए। सुदन गुरुङ युवा आन्दोलन र नयाँ राजनीतिक शक्तिसँग जोडिए।के यी छुट्टाछुट्टै घटना मात्र हुन्? वा— नेपालमा पुरानो राजनीतिक संरचनाको विकल्पका रूपमा नयाँ पुस्ताको शक्ति निर्माण गर्ने कुनै दीर्घकालीन प्रक्रिया चलिरहेको थियो?
सन् २०१९ मा सम्भावित नयाँ नेतृत्व भनेर पहिचान गरिएका व्यक्तिहरूमध्ये केही आज सत्ताको केन्द्रमा पुग्नु केवल संयोग हो? र फेरी अर्को प्रश्न- यदि विदेशी सहयोगमा सञ्चालित कार्यक्रमले नयाँ राजनीतिक नेतृत्व पहिचान, नेतृत्व विकास र राजनीतिक सहभागिताका लागि काम गरिरहेको थियो भने त्यसको अन्तिम राजनीतिक परिणाम कहाँ पुग्यो?
सागर ढकालले शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरे। बालेन्द्र शाहले स्थापित राजनीतिक दललाई चुनौती दिँदै काठमाडौँको मेयर जिते। रवि लामिछानेले पुराना दललाई चुनौती दिँदै नयाँ पार्टी बनाए। सुदन गुरुङ युवा आन्दोलन र नयाँ राजनीतिक शक्तिसँग जोडिए।के यी छुट्टाछुट्टै घटना मात्र हुन्? वा— नेपालमा पुरानो राजनीतिक संरचनाको विकल्पका रूपमा नयाँ पुस्ताको शक्ति निर्माण गर्ने कुनै दीर्घकालीन प्रक्रिया चलिरहेको थियो?
यहाँ द ग्रेजोनको दाबीलाई नकार्न पनि सकिँदैन, तर त्यसलाई अन्तिम प्रमाणित तथ्य मान्न पनि सकिँदैन। किनकि नाम कुनै कार्यक्रममा आउनु र त्यसैका कारण व्यक्ति सत्तामा पुग्नुबीच ठूलो प्रमाणको दूरी हुन्छ।
तर प्रश्नचाहिँ अझै बाँकी छ— अमेरिकाले नेपालमा राजनीतिक संस्था बलियो बनाउन मात्र लगानी गरेको थियो, कि भविष्यको राजनीतिक नेतृत्व निर्माणमा पनि लगानी गरिरहेको थियो?
नीति संवाद लोकतान्त्रिक संस्थाको क्षमता विकास कार्यक्रम मात्र थियो, कि नयाँ राजनीतिक शक्ति निर्माणको आधार पनि बनिरहेको थियो? रवि, बालेन, सागर र सुदनको नाम त्यहाँ कसरी पुग्यो?
उनीहरूसँग वास्तवमा के काम गरिएको थियो? यी प्रश्नको पूर्ण उत्तर नआएसम्म यसलाई केवल षड्यन्त्रको कथा भनेर खारेज गर्नु पनि हतार हुनेछ।
किनकि एउटा तथ्य निर्विवाद छ— अमेरिकाले नेपालमा करोडौँ डलर खर्च गरेर राजनीतिक दल, निर्वाचन, संसद् र नेतृत्व विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गरेको थियो।
र अर्को तथ्यका रूपमा द ग्रेजोनले सार्वजनिक गरेको भनिएको कागजातमा आजका प्रभावशाली नयाँ राजनीतिक पात्रहरूको नाम जोडिएको दाबी गरेको छ।
अब बाँकी प्रश्न नेपाली राज्य र स्वतन्त्र अनुसन्धानकर्ताहरूले खोज्नुपर्ने हो—त्यो पैसा कहाँ गयो? कसलाई तालिम दिइयो? कसलाई नेतृत्वका रूपमा छनोट गरियो? कससँग अमेरिकी संस्थाहरूको प्रत्यक्ष सम्पर्क थियो? र नेपालमा पुरानो राजनीतिक शक्तिलाई विस्थापित गर्दै नयाँ शक्ति निर्माण गर्ने प्रक्रियामा त्यसको भूमिका कति थियो?
यदि यी प्रश्नको जवाफ कागजात र आर्थिक अभिलेखले पुष्टि गर्छ भने, नेपालमा पछिल्ला वर्षमा भएको राजनीतिक रूपान्तरणलाई केवल स्वाभाविक जनआक्रोशको परिणाम भनेर बुझ्नु अपूरो हुन सक्छ।
त्यसैले अहिलेको सबैभन्दा ठूलो प्रश्न यही हो—नेपालमा नयाँ राजनीतिक शक्ति आफैं जन्मिएको थियो, कि त्यसलाई जन्माउन बाहिरबाट पनि कुनै लामो तयारी भइरहेको थियो?



रोशनराज पाण्डेय |
