
एसीसी पुरुष प्रिमियर कपः मलेशियाविरूद्ध नेपाल ६ विकेटले विजयी
काठमाडौं-एसीसी पुरुष प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओभलमा सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी यात्रा जारी राखेको हो।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसिया नेपाली बलरहरूको घातक र कसिलो बलिङसामु ३२.३ ओभरमा मात्र १०३ रनमा अलआउट भएको थियो। मलेसियाका लागि सायेद अजिजले सर्वाधिक ३० रन र अकिल वाहिदले २४ रन जोड्नुबाहेक अन्य ब्याटरहरूले सम्झिनयोग्य योगदान दिन सकेनन्।
नेपालका लागि मध्यम गतिका बलर करण केसीले ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, स्पिनर ललित राजवंशीले २ विकेट तथा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १-१ विकेट हात पारेका थिए।
मलेसियाले प्रस्तुत गरेको १०४ रनको सहज लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाउँदै भेट्टायो। नेपालको जितमा युवा ब्याटर अर्जुन कुमालले ६८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक अविजित ४५ रनको योगदान दिए।
त्यस्तै, ईशान पाण्डेले २० रन, रोहित पौडेलले १० रन र दिपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाए। मलेसियाका लागि विरनदीप सिंह, आरिफ उल्लाह र प्रसान्त मधूकरले १-१ विकेट लिए।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै नेपालले समूह चरणमा आफ्नो शीर्ष स्थानको दाबीलाई अझ बलियो बनाएको छ।



कागजपत्र |
