प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट रु. १ करोड ३१ लाख ३२ हजार ५५२ सहयोग


काठमाडौं— विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानसहित विभिन्न संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ३१ लाख ३२ हजार ५५२ सहयोग गरिएको छ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले रु. १ करोड १ लाख १ रुपैयाँ तथा प्रतिष्ठानका सम्पूर्ण कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिक रु. ८ लाख ५१ हजार ३५१ रुपैयाँ कोषमा जम्मा गरेको हो। त्यस्तै, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाको तर्फबाट रु. २१ लाख ८१ हजार २०० रुपैयाँ सहयोग गरिएको छ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीको विशेष उपस्थिति रहेको थियो। अधिकारीले प्रतिष्ठानको तर्फबाट विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम हस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

विपद्को कठिन घडीमा तिलगंगा आँखा प्रतिष्ठान र त्यसका कर्मचारीहरूले गरेको सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। यस्ता सहयोगले विपद् प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

यस कठिन अवस्थामा सबै नेपालीलाई एकअर्काको दुःख–सुखमा साथ दिँदै एकजुट हुन र विपद् प्रभावित समुदायको पुनःस्थापनाका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न प्रतिष्ठानले आग्रह गरेको छ।

प्रतिक्रिया