एसीसी प्रिमियर कपः फाइनलमा नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य


काठमाडौं – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतक प्रहार गरे। उनले १०६ बलमा १०२ रन बनाए। आसिफले आफ्नो शतकीय इनिङ्समा ८ चौका र ४ छक्का प्रहार गरे। उनी हैदर अलीको बलमा क्याच आउट भए।

अलराउन्डर गुल्सन झाले पनि आक्रामक अर्धशतक बनाए। पाँचौँ क्रममा ब्याटिङमा आएका गुल्सनले ३६ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे।

ओपनर अर्जुन कुमालले ४३ रन बनाए। २१ ओभरको अन्तिम बलमा आसिफसँग तालमेल नमिल्दा रनआउट हुनुअघि अर्जुनले ६३ बलमा ६ चौका प्रहार गरेका थिए। उनले आसिफसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।

नेपालका कप्तान रोहित पौडेलले ४४ बलमा ४० रन बनाए। उनले २ चौका प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन, इशान पाण्डेले २० बलमा १३ रन तथा करण केसीले २ बलमा १ रन बनाए।

फाइनलमा दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। सन् २०२३ मा काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने यूएईले आयोजक ओमानलाई हराउँदै उपाधि जितेको थियो।

यसपटकको विजेता टोलीले आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण बनेको छ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजित भएको छ। यूएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म १९ खेल भएका छन्। नेपालले ११ खेल जित्दा यूएईले ८ खेलमा सफलता हात पारेको छ। पछिल्ला पाँच भेटमा पनि नेपाल ३–२ ले अघि छ। गत मे महिनामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत भएका दुवै खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो।

 

प्रतिक्रिया