
बाढी प्रभावितलाई ‘हातेमालो फाउण्डेसन नेपाल’द्वारा राहत हस्तान्तरण
काठमाडाैं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारका अलावा विभिन्न संघ-संस्था एवम् व्यक्तिविशेषदेखि सर्वसाधारण नागरिकसम्मले सहयोगका हात बढाइरहेका छन् ।
यसै क्रममा ‘हातेमालो फाउण्डेसन नेपाल’ नेपाल प्रहरी विपद प्रतिकार्य तालिम केन्द्रमार्फत बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराएको छ ।
देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै फाउण्डेसनले चामल, च्युरा, दाल, चाउचाउलगायत विभिन्न खाद्यसामग्रीहरु सहयोग उपलब्ध गराएको हो ।
विपद्का कारण ठूलो संख्यामा नागरिक घरबार तथा आफन्त गुमाएर कठिन परिस्थितिमा पुगेको विषम परिस्थितिमा आफूहरु प्रभावित परिवार तथा समुदायको साथमा रहेको फाउण्डेसनका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताए ।
यस्तै, फाउण्डेसनका सदस्य एवम् समाजसेवी गजेन्द्र विक्रम प्रजापतिले राज्यले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा सहयोग पुऱ्याउने उद्देश्यले उक्त योगदान गरिएको बताए भने संस्थासम्वद्ध अर्का समाजसेवी दिलकृष्ण प्रजापतिले दुःख र संकटको घडीमा प्रभावित नागरिकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत उपलब्ध गराएको जानकारी दिए ।



कागजपत्र |
