
अपराधको बढ्दो ग्राफ : हामी कस्तो समाज बनाउँदैछौँ?
तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको खबरले फेरि एकपटक समाजलाई झस्काएको छ। झस्किनुपर्ने कारण घटना जघन्य भएर मात्र होइन, यस्ता घटनामा संलग्न व्यक्तिको उमेर र अपराधको स्वरूपले हाम्रो सामाजिक संरचनामाथि नै गम्भीर प्रश्न उठाएको छ। अझ चिन्ताजनक कुरा त के छ भने, यस्तो घटना अब हामी कहाँ बिल्कुलै असम्भव वा अकल्पनीय समाचार रहेन। केही दिन आक्रोश, केही दिन बहस र त्यसपछि फेरि सामान्य दिनचर्या—हाम्रो सामाजिक प्रतिक्रियाको चक्र लगभग यस्तै बन्न थालेको छ।
तीन वर्षकी बालिका संसार बुझ्दै थिइन्। उनलाई अपराध, हिंसा र वासना के हुन् भन्ने थाहा हुने उमेर नै होइन। तर त्यही बालिका हिंसाको सिकार भएर ज्यान गुमाउँछिन् भने हामीले केवल अपराधीलाई दोष दिएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन। यस्तो अपराध जन्माउने सामाजिक वातावरण कहाँबाट बनिरहेको छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
यस घटनामा आरोपितमध्ये एक किशोर उमेरका व्यक्ति हुनु अझ गम्भीर पक्ष हो। अपराधीको उमेर घट्दै जानु समाजका लागि सामान्य तथ्य होइन, ठूलो चेतावनी हो। हामीले आफ्ना किशोरलाई प्रविधि दिएका छौँ, मोबाइल दिएका छौँ, इन्टरनेट दिएका छौँ, संसारभरको सूचना उनीहरूको हातमा पुर्याएका छौँ। तर त्यससँगै विवेक, संयम, लैङ्गिक सम्मान र मानवीय संवेदनाको शिक्षा कति दिएका छौँ? यो प्रश्न अब घर, विद्यालय र समाज सबैले स्वीकार गर्नुपर्ने समय आएको छ।
हामी छोराछोरीलाई राम्रो पढ, ठूलो मान्छे बन, धेरै पैसा कमाऊ भन्छौँ। तर कसैको शरीरमाथि उसको इच्छाविपरीत अधिकार जमाउनु अपराध हो भन्ने कुरा कति परिवारले आफ्ना छोराछोरीसँग खुलेर कुरा गर्छन्? महिलालाई सम्मान गर्नु, बालबालिकाको सीमाको सम्मान गर्नु, गलत स्पर्श र सही स्पर्श छुट्याउनु, इन्टरनेटमा देखिने प्रत्येक सामग्री सही हुँदैन भन्ने बुझाउनु-यी विषयमा हाम्रो पारिवारिक संवाद अझै कमजोर छ।
अर्कोतर्फ, तीव्र शहरीकरणले पनि हाम्रो सामाजिक संरचनालाई बदलिरहेको छ। गाउँबाट शहरमा मानिस थपिएका छन्, बस्ती बाक्लिएका छन्, घर अग्लिएका छन्, तर छिमेकीसँगको सम्बन्ध पातलिएको छ। एउटै टोलमा को बस्छ, कसको गतिविधि के छ, बालबालिका कहाँ खेलिरहेका छन् भन्ने जानकारी राख्ने सामुदायिक संस्कार कमजोर हुँदै गएको छ। पहिले समाजको सामूहिक आँखाले हेर्ने काम अहिले सीसीटीभीले गर्नुपर्ने अवस्था आएको छ। तर क्यामेराले समाजको विवेकको ठाउँ लिन सक्दैन।
शहरमा खाली घर, निर्माणाधीन संरचना, सुनसान बाटो र कमजोर सामुदायिक निगरानीजस्ता जोखिम बढिरहेका छन्। त्यसलाई अपराधसँग जोडेर हेर्ने व्यवस्थित अभ्यास पनि हामीकहाँ कमजोर छ। अपराध भइसकेपछि अपराधी खोज्नेभन्दा अपराध हुन सक्ने ठाउँ र परिस्थितिको पहिचान गरेर त्यसलाई नियन्त्रण गर्ने प्रणाली बलियो हुनुपर्ने हो।
अपराधको अर्को डरलाग्दो पक्ष भनेको यसको सामान्यीकरण हो। कुनै बालिका बलात्कारमा परिन्, कुनै महिलाको हत्या भयो, कुनै बालक हिंसाको सिकार भयो-समाचार आयो, केही दिन सामाजिक सञ्जालमा बहस चल्यो, दोषीलाई कडा सजाय मागियो र केही समयपछि अर्को घटनाले पुरानोलाई विस्थापित गर्यो। हामी घटनाप्रति आक्रोशित त हुन्छौँ, तर घटनाबाट पाठ सिकेर प्रणाली बदल्ने कुरामा भने त्यति गम्भीर देखिँदैनौँ।
अपराध नियन्त्रणको अर्थ अपराधी पक्राउ पर्नु मात्र होइन। एउटा बच्चा हराएको सूचना पाएपछि राज्य संयन्त्र कति छिटो परिचालित हुन्छ? जोखिममा रहेका बालबालिकाको सुरक्षा कसरी सुनिश्चित गरिन्छ? विद्यालय र स्थानीय तहले बाल सुरक्षा सम्बन्धी कस्तो व्यवस्था गरेका छन्? प्रहरीलाई सूचना पुगेपछि उसको प्रतिक्रिया कति प्रभावकारी हुन्छ? यस्ता प्रश्नको उत्तरमा अपराध रोकथामको वास्तविक क्षमता लुकेको हुन्छ।
हामीले बारम्बार सजायको कुरा गर्छौँ। निश्चय पनि जघन्य अपराधमा कानुनअनुसार कठोरभन्दा कठोर कारबाही हुनुपर्छ। तर सजायको डरले मात्र अपराध रोकिँदैन। अपराधी बन्नुअघि व्यक्तिको मानसिकता कसरी निर्माण भयो, परिवारले के सिकायो, समाजले के स्वीकार गर्यो, प्रविधिले कस्तो प्रभाव पार्यो र राज्यको निगरानी कहाँ कमजोर भयो- यी प्रश्नको जवाफ खोजिएन भने एउटा अपराधीलाई जेल हालेर अर्को अपराधी जन्मिने प्रक्रिया रोकिँदैन।
आजको घटना त्यसैले केवल एउटा परिवारको दुःख होइन। यो राज्यको सुरक्षा प्रणालीमाथिको प्रश्न हो। प्रहरीको कार्यक्षमतामाथिको प्रश्न हो। परिवारको चेतनामाथिको प्रश्न हो। विद्यालयको शिक्षामाथिको प्रश्न हो। र सबैभन्दा ठूलो कुरा, हाम्रो सामाजिक संस्कारमाथिको प्रश्न हो।
हामीले विकासलाई सडक, भवन, व्यापार र प्रविधिसँग जोडेर हेर्ने गरेका छौँ। तर कुनै समाज कति विकसित छ भन्ने मापन त्यहाँका कमजोर मानिस कति सुरक्षित छन् भन्ने आधारमा पनि हुनुपर्छ। तीन वर्षकी बालिका आफ्नै वरिपरिको संसारमा सुरक्षित छैनन् भने हामीले आफूलाई आधुनिक समाज भनेर गर्व गर्नुको अर्थ के रह्यो?
अब छोरीलाई मात्र सावधान रहन सिकाएर पुग्दैन। छोरालाई पनि संवेदनशील, जिम्मेवार र सम्मान गर्न सक्ने नागरिक बनाउने शिक्षा दिनुपर्छ। बालबालिकालाई डराएर होइन, बुझाएर सुरक्षित बनाउनुपर्छ। प्रहरीलाई घटना भएपछि मात्र होइन, सम्भावित अपराधअघि नै सक्रिय बनाउनुपर्छ। शहरलाई भवनले मात्र होइन, सुरक्षित समुदायले पनि भरिनुपर्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, यस्तो घटना भएपछि केही दिन आक्रोशित भएर फेरि मौन बस्ने हाम्रो बानी बदलिनुपर्छ। किनकि आज पीडित एउटा परिवार हो, तर भोलि त्यो पीडा जुनसुकै घरमा पुग्न सक्छ।
अपराधको ग्राफ माथि जाँदैछ भने हामीले केवल अपराधीको संख्या गन्ने होइन, समाजको संवेदना कहाँ घटिरहेको छ भनेर पनि हेर्नुपर्छ। तीन वर्षकी बालिकाको चित्कार सुन्न नसक्ने समाजले आफूलाई सभ्य भन्न मिल्दैन।



राेशन पाण्डेय |
