जुवा अखडामा नै भेटिए सई गिरी, हिरासतमा राखेर अनुसन्धान सुरु

फरार जुवा अखडा सञ्चालक ‘कमल बुकी’ पूर्वप्रहरी !


काठमाडौं – जुवा अखडाबाट नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) समेत पक्राउ परेका छन् ।

पछिल्लो समय विभिन्न स्थानमा छापा मार्दै जुवा खेलाउने तथा खेल्नेहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउने क्रममा लैनचौरस्थित गाउँबेसी थकालीमा छापा मार्दा गौशाला प्रहरी वृत्तमा कार्यरत सई सरोज गिरी समेत पक्राउ परेका हुन् । उनलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

दरबारमार्ग प्रहरीले आइतबार छापा मार्दा जुवा खेलिरहेको अवस्थामा थकालीका सञ्चालक सुजन लामासहित १५ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट करिब १२ लाख रुपैयाँ नगद समेत बरामद भएको प्रहरी स्रोतको दाबी छ। उक्त अवसरमा थकालीका सञ्चालक र प्रहरीका सई नै पक्राउ पर्दा जुवा अखडा सञ्चालक ‘कमल बुकी’ भनिन कमल ज्ञवाली भने फरार भएका थिए । उनी नेपाल प्रहरीका पूर्वकर्मचारी रहेको खुलेको छ ।

सोही क्रममा पक्राउ परेका सई गिरीलाई दरबारमार्ग प्रहरीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ। सई गिरी हाल गौशाला प्रहरी वृत्तमा कार्यरत रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार सई गिरीको विगतदेखि नै जुवा अखडा सञ्चालन गर्ने केही व्यक्तिहरूसँग सम्पर्क तथा उठबस रहेको आशंका गरिएको छ। उनले आफूले प्रहरीका ‘हाकिमहरू मिलाइदिने’ तथा जुवा सञ्चालनमा सहज हुने गरी ‘सेटिङ मिलाइदिने’ भन्दै रकम लिने गरेको आरोपसमेत अनुसन्धानका क्रममा उठेको स्रोतको दाबी छ।

स्रोतका अनुसार जुवा सञ्चालनमा संलग्न भनिएका सुजन लामा र कमल बुकीको सई गिरीको सम्पर्क तथा आर्थिक लेनदेनबारे अनुसन्धान भइरहेको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। जागिर छाडेपछि ज्ञवालीले प्रहरीमै रहँदा चिनजानको आधारमा ज्ञवालीसँगको मिलेमतोमा जुवा अखडा सञ्चालन गर्ने गरेको जनाइएको छ । साथै उनले गिरीसँगको मिलेमतोमा अन्य जुवा अखडाहरुमा छापा मार्न लगाउने गरेको पनि खुलेको छ ।

 


          सम्बन्धित समाचार…

     १२ लाखसहित थकाली सञ्चालक लामासहित १५ जना पक्राउ


 

दरबारमार्ग प्रहरीले सई गिरीको जुवा अखडा सञ्चालकहरूसँगको सम्बन्ध, घटनास्थलमा उनको उपस्थितिको कारण तथा ‘हाकिम मिलाइदिने’ भन्दै रकम लिएको भनिएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा सई गिरीमाथि विभागीय कारबाहीका साथै प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया