काठमाडाैं हेर्न चन्द्रागिरीतिर बरालिँदा…


अब रमाउन मन लाग्न थालेछ कि क्या हो ? कालीप्रसाद बास्कोटा र हिमाल साउदको शब्दमा हेमन्त रानाले भने जस्तै ४० कटियो कि क्या हो ? जेन्जी सरकारले दिएको आइतबारको बिदालाई सदुपयोग गर्दै काठमाडौंको कुनै एउटा डाँडा पुग्ने रहरमा हेमन्त राना फेरि गुञ्जिए ।

अघिल्लो महिना उपत्यकाको एउटा डाँडो पाइलाले नापिएको थियो कुमार सर र ऋषभको साथमा । तर यसपटक भने ज्यानको सुविस्ताका  लागि प्रविधिलाई पछ्याउने निर्णय गरियो । किनकि म र मेरीसँगै हाम्राले पनि डाँडाबाट उपत्यका हेर्ने रहर गरे । आफ्नो रहरसँगै आफ्नाको पनि रहर पूरा गर्नु दायित्व मात्र होइन खुशी पनि हो भन्ने कुरा भनिराख्नुपर्ने पक्कै होइन ।

त्यसैले यसपटक रोजियो उपत्यकाको डाँडामा पुग्ने सबैभन्दा सजिलो उपाय खोज्दै दक्षिण पश्चिमको चन्द्रागिरीतिर । आफ्नै समेत (१० कित्ता शेयर) दायित्व भएको चन्द्रागिरी हिल्सको सम्पत्ति थोरै भए पनि बढाउने योजना जय (जयराम लामिछाने) दाईले तुहाइदिनुभयो । जाउ, घुम अनि घुमाउ भन्दै चारवटा टिकट हातैमा थमाइदिनुभयो । सो क्रममा सिल्भर जुब्लीसमेत कटिसकेको हाम्रो सम्बन्धका सुरुवातका दिनहरु सम्झाइदिनु भयो दाजुले । दाजुको कुरासँगै दरबार हत्याकाण्ड र भदौ १६ लगायतका घटनालाई स्मरणमा ‘रिन्यू’ अनि पछिल्ला दिन बिताउने क्रममा भेट हुने तर संगत खास्सै नहुने ‘ठेट्ना’हरुका बारेमा कुरा निस्कन थाले पनि पुरानैहरूको सम्झना धेरै गरियो ।

झण्डै साढे ८ बजेतिर घरबाट निस्किएका हामी १० बजे तल्लो स्टेशन पुगियो । उपत्यकाको पूर्वी कुनामा बस्दै आएका हामी पश्चिम कुनासम्म जाँदा झण्डै डेढघन्टा बाटैले खायो । त्यसपछि झण्डै खाली रहेको तल्लो स्टेशनबाट कुहिरोभित्रको माथिल्लो स्टेशन पुगियो । बिचमा झण्डै २ मिनेट केबलकारले बिश्राम गर्यो, थाहा नदिउँ भनेको छोराले थाहा पाइहालेछ रोकिएको- डरायो अलि-अलि । तर, उसलाई हैन होला भनेर यताउति देखाउँदा देखाउँदै फेरि चल्यो, अनि आनन्द भयो । तल गर्मीले पसिना बगेको शरीर माथि पुगेपछि कुहिरोको बीचमा चिसियो ।

चन्द्रागिरीमा एउटा बडो गज्जबको अफर रहेछ, सोमबार साँझ ४ बजेपछिको टिकटको मूल्य ४२५ ।– अर्थात् ५० प्रतिशत छुट । के–को लागि होला ? भनेको त भालेश्वरको मन्दिरमा आरतीका लागि भक्तजन लैजाने चन्द्रागिरी हिल्सको जुक्ति पो रहेछ । ४ बजे काटेको टिकटको समय ७ बजेसकिँदो रहेछ । ४ बजे माथि गयो, आरती गर्यो, अनि ७ बजे तल झरिसक्नुपर्ने ।

अनि साँचि माथिल्लो स्टेशनमा पुग्नेबित्तिकै गेटमै रातोप्लेटको माइक्रो पनि देखियो । त्यो चाहिँ चन्द्रागिरी रिसोर्टका ‘ग्राहक’ कुर्ने गर्दो रहेछ । रिसोर्टसम्म जानेहरुलाई तलबाट केबलकार चढेर गएपछि माइक्रोमै जाने सुविधा पनि रहेछ ।

माथि पुगेपछि चिसिएको शरिरलाई जिपलाइन, साइक्लिङ र स्काई वाकले झन् चिस्यायो । २/४ सय मिटरका लागि हजारमाथि ‘दान’ गर्नुपर्ने रहेछ । भिडियो बनाउँदै ३ सय रे ! त्यो त धेरै सस्तो नै हो भन्ने चाहिँ लागेन आफूलाई । त्यहाँ हर्स राइडिङ पनि रैछ.. तर चिसोले कठ्याङ्ग्रिएको घोडामा पैसै तिरेर आफ्नो भारि ज्यान भने बिसाइएन । साढे २ सय तिरेर चढेको घोडाले मैले तिरेमध्येको कति पैसाको खानेकुरा पाउला ? त्यो त्यसको अनुहार हेर्दा कल्पनै सम्म पनि गर्न सकिएन ।

तल्लो स्टेशनदेखि माथिल्लो स्टेशन र भालेश्वर मन्दिरको प्रांगणमा गरी ३ वटा ‘आई लभ चन्द्रागिरी’ का फोटो खिच्ने ठाउँ रहेछन् । तपाईंसँग क्वालिटिको मोबाइल/क्यामेरा छैन भने चिन्ता गर्नुपर्ने रैनछ है, त्यहीँ कतै फोटोग्राफरहरुले एसएलआर क्यामेरा लिएर बसेका हुँदा रहेछन् । तिनीहरुले कति पैसा लिँदा रहेछन् त्यो चाहिँ सोधिएन । अनि साँची त्यहाँ केही फ्रेमहरूमा साँचो नै साँचो लगाएका पनि देखियो, त्यो किन लगाउँदा हुन् कुन्नि ? साँचोमा नाम लेखेका थिए, माया गर्नेहरूले ‘ताला’ नै लगाएर माया गरेका हुन् कि के होला ? त्यो पनि सोधिएन ।

झण्डै ८ वर्षअघि जाँदा खानेकुरा लैजान नपाइने चन्द्रागिरीमा यसपटक भने झोला ‘चेक’ नहुने रहेछ । त्यो चाहिँ राम्रै लाग्यो, तर चेक हुन्छ कि ? कुनै बेला, सोधिएन है कसैसँग । आफू भने पहिलेकै झैं मानेर झोलामा केही बोकिएन, माथि पुगेपछि साढे ३ सयको मःम र डेढ सयको चार पीस जेरीमा परियो । तर, प्याकेटका खानेकुरा खानेका लागि भने फाइदै रहेछ, एमआरपीमै सामान पाइने पसल पनि रहेछन् है । आफ्नै च्वाइस हो, जे/जता खाँदा पनि भयो, गच्छेअनुसारको ।

एकछिनपछि भालेश्वर महादेवको दर्शन गरी चिसोले जिउ थप चिस्याउन थालेपछि झरियो । शनिबार र सार्वजनिक बिदाका दिन १२ देखि १ बजेसम्म केबलकार बन्द नहुने रैछ, त्यसैले केबलकार नचलेर कुरेरै बस्न चाहिँ नपर्ने रहेछ ।

माथि चिसोले कामेको शरीर लिएर जसो-तसो तल झर्यो, केबलकार र तलको गर्मीले हपक्कै भएको शरिरलाई ‘वाटर फाउन्टेन’ले अलि–अलि शितल बनाउँदो रहेछ । त्यहाँ पनि फोटो खिच्नेहरुको भिड नै लाग्नेरहेछ ।

तल ओर्लँदासम्म एउटै ‘रुटिङ’ हिँडेकाहरु अब भने आ–आफ्नो सुरमा हिँड्दा रहेछन् । कसैले त्यहीँसम्म लगेका निजी सवारीमा ओरालो लाग्दा रहेछन् भने कसैले तल्लो स्टेशनमा राइड सेयरिङका लागि कुरिरहेकाहरुको साथ पनि लाग्दा रहेछन् । अल्लि तल भने एउटा बस स्टेशन रहेछ, त्यहाँ चाहिँ धुलिखेलसम्म जाने सार्वजनिक बस पाइनेरहेछ । त्यो पनि झण्डै उपत्यकालाई नै फन्को मार्दै, चन्द्रागिरी, थानकोट, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वर, भक्तपुर, बनेपा हुँदै धुलिखेलसम्म पुग्दो रहेछ, आफूलाई जता मिल्छ त्यतै झरे हुनेरैछ है ।

प्रतिक्रिया