वर्षाको बितण्डाः लगातारको वर्षापछिको पहिरोले कस्तो छ देशभरका सडकको अवस्था ?

कृष्णभीरमा पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध, बीपी राजमार्ग बन्द, कुलेखानी भरिँदै


काठमाडौं — लगातारको वर्षापछि देशभरका अधिकांश सडकहरु अवरुद्ध रहेका छन् ।

वर्षापछिको पहिरोका कारण यतिबेला काठमाडौं उपत्यका सडक सञ्जालबाट विच्छेद भएको छ भने अन्य स्थानमा पनि पहिरो गइरहेको खबर प्राप्त भएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा १० वटा सडकखण्ड अवरुद्ध रहेका छन्। जसमध्ये २०८३ भदौ १० गतेदेखि नै बाढीका कारण रसुवाको बारा घुम्तीदेखि रसुवागढीसम्मको पासाङल्हामु राजमार्ग, त्रिशुली–बेत्रावती हुँदै रसुवागढीसम्मको सडक, नुवाकोटको त्रिशूलीबाट बेत्रावतीसम्मको मैलुङ–स्याफ्रुबेशी सडक र धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा कालुपाण्डे राजमार्ग अवरुद्ध छन् ।

विवरणअनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटरोराङ–७ कृष्णभिर र १० तिङराङखानीमा पहिरो खस्दा तथा चितवनको इच्छाकामना–४ धारापानीमा सडक भासिँदा आवागमन बन्द भएको छ । कान्तिलोकपथअन्तर्गत ललितपुरको गोदावरी–६ बिर्खेंधारा र बागमती–३ को पाङदुरडोल र टाकुर्चेमा पहिरोले तथा मकवानपुरको भीमफेदी–८ खहरे खोल्सामा लेदो आएर सडक अवरुद्ध भएको छ । साथै, बी।पी। राजमार्ग पनि काभ्रेको रोशी–७ चारसयवेशी र ८ गिम्दीवेशीमा पहिरोका कारण बन्द रहेको छ ।

यस्तै, कोशी प्रदेशमा असोज ९ गतेका दिन दुईवटा सडकखण्ड अवरुद्ध भएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ भँडारे खोलामा आएको बाढीले सिद्धिचरण लोकमार्ग बन्द भएको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्तबराहमा खसेको पहिरोका कारण चतरा–बराहक्षेत्र सडक अवरुद्ध हुन पुगेको छ ।

लुम्बिनी प्रदेशमा पनि पहिरोका कारण दुईवटा सडक अवरुद्ध भएका छन् । मन्त्रालयको विवरणअनुसार गुल्मीको कालिगण्डकी गाउँपालिका–२ रावसे र ४ पातिखोलामा पहिरो खस्दा कालिगण्डकी करिडोर बन्द भएको छ । त्यसैगरी, रोल्पाको माडी गाउँपालिका–२ ब्याङखोलामा पहिरो गएका कारण घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 

अविरल वर्षाले कृष्णभीरमा पहिरो

बिहीबारदेखि जारी अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहित पहिरो खसेपछि आवागमन ठप्प भएको हो।

यसअघि गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि सोही स्थानमा भीषण पहिरो गएको थियो। उक्त पहिरो पन्छाएर माथिबाट २ सय ७० मिटर नयाँ ट्र्याक खोली ग्राभेल गरेपछि असोज १ गतेदेखि मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

 

नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडक खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको जनाएको हो।

बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा जारी अविरल वर्षाका कारण सडकका विभिन्न ठाउँमा पहिरो खसिरहेको छ। पहिरो पन्छाउने काम निरन्तर भइरहेको भए पनि वर्षा नरोकिएकाले जोखिम बढेपछि यात्रा सुरक्षित बनाउन सडक बन्द गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ।

सडक सफा गरी पुनः सञ्चालनमा आएपछि मात्र नयाँ सूचनामार्फत जानकारी गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अविरल वर्षाका कारण काभ्रेको रोशी गाउँपालिकाका दुई फरक स्थानमा भीषण पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान करिब ४:३० बजे रोशी गाउँपालिका–७ स्थित चारसयबेसी र वडा नम्बर ८ स्थित गिम्दीबेसीमा सडकमाथिबाट ठूलो पहिरो खसेको हो। पहिरोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ।

सडक अवरुद्ध भएसँगै प्रहरीले बीपी राजमार्ग भई यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था र आवागमन खुले/नखुलेको यकिन जानकारी लिएर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।

साथै सो क्षेत्रमा थप पहिरो खस्ने र जोखिम बढ्ने सम्भावना रहेकाले यात्रा गर्दा उच्च सावधानी अपनाउनसमेत प्रहरीले अनुरोध गरेको छ।

 

कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्दै

अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेपछि सम्भावित जोखिम नियन्त्रण र आपत्कालीन तयारीलाई तीव्र पारिएको छ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार शुक्रबार बिहान ७:१५ बजे जलाशयको जलसतह १,५२२.३८ मिटर पुगेको छ। पछिल्लो डेढ घण्टामै जलसतह ९ सेन्टिमिटरभन्दा बढी बढेको हो। कुलेखानीको अधिकतम क्षमता १,५३० मिटर रहेकाले अहिलेको जलसतह उच्च विन्दुभन्दा करिब ७.६२ मिटर मात्र तल छ।

निरन्तरको वर्षाले जलाशय भरिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणको लोड डिस्प्याच सेन्टर (एलडीसी) सँगको समन्वयमा कुलेखानी प्रथम जलविद्युत् केन्द्रलाई पूर्ण क्षमता (६० मेगावाट) मा सञ्चालन गरी पानीको सतह घटाउने प्रयास भइरहेको छ।

जलाशयमा पानीको मात्रा बढ्दै जाँदा बाँध क्षेत्रमा थप अनुभवी प्राविधिक टोली परिचालन गरिएको छ। विद्युत् आपूर्ति अवरुद्ध भए पनि बाँधका गेट खोल्ने प्रणाली र साइरन सञ्चालनमा बाधा नपुगोस् भनेर डिजेल जेनेरेटर (डीजी) परीक्षण गरी दुरुस्त राखिएको केन्द्रले जनाएको छ।

बाँधको तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वजानकारी दिन पाँच किलोमिटर दूरीसम्म सुनिने साइरन प्रणाली चुस्त बनाइएको छ। सिस्नेरी प्रहरी चौकी र इन्द्रसरोवर गाउँपालिकाको नयाँ भवनमा जडान गरिएका इलेक्ट्रिक साइरनका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गर्नाका साथै सञ्चालन अभ्याससमेत गराइएको छ। त्यसैगरी खानीखेत अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बलको हेभीस्थित टोलीलाई हाते साइरनसमेत हस्तान्तरण गरिएको छ।

आपत्कालीन अवस्थामा बाँधको गेट खोल्नुपरेमा तत्काल सूचना प्रवाह गर्न जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुर, स्थानीय तहका फोकल व्यक्ति, सुरक्षा निकाय र तल्लो तटीय क्षेत्रका बासिन्दाको मोबाइल नम्बर संकलन गरी एसएमएस पूर्वसूचना प्रणालीसमेत तयार पारिएको छ।

गत वर्ष पनि अत्यधिक वर्षाका कारण जलाशय भरिएपछि कुलेखानी बाँधका गेटहरू आंशिक रूपमा खोलिएका थिए। कुलेखानी जलाशयको पानीबाट कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत् आयोजनाहरू सञ्चालित छन्।

प्रतिक्रिया