
कांग्रेसको एकता: इतिहासको आवश्यकता, लोकतन्त्रको अपरिहार्यता
नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, एउटा आन्दोलनको नाम हो। यो पार्टीको इतिहास सत्ता प्राप्तिको इतिहास मात्र होइन; राणा शासनविरुद्धको विद्रोह, पञ्चायती निरंकुशताविरुद्धको संघर्ष, नागरिक स्वतन्त्रताको रक्षा, बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना, शान्ति प्रक्रिया र संविधान निर्माणसम्मको निरन्तर राजनीतिक यात्राको इतिहास हो। त्यसैले नेपाली कांग्रेसभित्रको आन्तरिक अवस्था केवल कांग्रेसको विषय होइन, नेपालको लोकतान्त्रिक भविष्यसँग पनि जोडिएको विषय हो।
इतिहासले एउटा तथ्य स्पष्ट देखाएको छ—जब नेपाली कांग्रेस बलियो भएको छ, लोकतान्त्रिक आन्दोलनले गति लिएको छ; र जब कांग्रेस आन्तरिक रूपमा कमजोर भएको छ, त्यसको प्रभाव राष्ट्रिय राजनीतिमा पनि परेको छ। त्यसैले आजको प्रश्न केवल सभापति को हो भन्ने होइन, कांग्रेस कस्तो बन्ने भन्ने हो।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेरप्रसाद (बीपी) कोइरालाले आफ्नो सम्पूर्ण राजनीतिक जीवनभर राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कांग्रेसको वैचारिक आधारका रूपमा स्थापित गर्नुभयो। उहाँले पटक–पटक जोड दिनुभएको विषय थियो—दलभन्दा माथि राष्ट्र, र राष्ट्रको आधार लोकतन्त्र।
बीपीको एउटा प्रसिद्ध भनाइ छ, “प्रजातन्त्र भनेको जनताको स्वतन्त्रताको अर्को नाम हो।” यो वाक्य केवल राजनीतिक नारा होइन, कांग्रेसको आत्मा हो। प्रजातन्त्रको अर्थ केवल चुनाव जित्नु होइन; विचारको सम्मान, असहमतिको संरक्षण, विधिको शासन र संस्थागत संस्कृतिको विकास हो।
गिरिजाप्रसाद कोइरालाले देशलाई द्वन्द्वबाट शान्तिको बाटोमा ल्याउने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुभयो। उहाँले राजनीतिक मतभेदलाई संवादमार्फत समाधान गर्ने संस्कृतिलाई प्राथमिकता दिनुभयो। संविधान निर्माण र शान्ति प्रक्रियामा उहाँको भूमिकाले देखायो कि ठूलो नेतृत्व त्यो हो, जसले आफ्नो पक्ष मात्र होइन, राष्ट्रको हितलाई प्राथमिकता दिन्छ।
आज कांग्रेसभित्र देखिने ध्रुवीकरण हेर्दा बीपीले दिएको अर्को सन्देश अझ सान्दर्भिक देखिन्छ—दललाई व्यक्तिले होइन, विचार र विधिले चलाउनुपर्छ। जब व्यक्तिलाई संस्थाभन्दा माथि राख्ने प्रवृत्ति बढ्छ, तब संगठन विस्तारै कमजोर हुँदै जान्छ।
कृष्णप्रसाद भट्टराईलाई नेपाली राजनीतिमा नैतिक नेतृत्वको प्रतिमूर्ति मानिन्छ। उहाँले राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, जनताको सेवाको दायित्वका रूपमा लिनुभयो। उहाँको जीवनले सिकाएको पाठ स्पष्ट छ—नैतिकता हराएको राजनीतिले अन्ततः जनविश्वास पनि गुमाउँछ।
गणेशमान सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्ने अवसर त्याग्नुभयो। त्यो निर्णयले नेपाली राजनीतिलाई एउटा ठूलो सन्देश दियो—त्याग र सहमतिको राजनीतिले नै लोकतन्त्रलाई बलियो बनाउँछ। इतिहासले उहाँलाई प्रधानमन्त्री नभएको कारणले होइन, लोकतन्त्रका सर्वोच्च सेनानीका रूपमा सम्झन्छ।
गिरिजाप्रसाद कोइरालाले देशलाई द्वन्द्वबाट शान्तिको बाटोमा ल्याउने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुभयो। उहाँले राजनीतिक मतभेदलाई संवादमार्फत समाधान गर्ने संस्कृतिलाई प्राथमिकता दिनुभयो। संविधान निर्माण र शान्ति प्रक्रियामा उहाँको भूमिकाले देखायो कि ठूलो नेतृत्व त्यो हो, जसले आफ्नो पक्ष मात्र होइन, राष्ट्रको हितलाई प्राथमिकता दिन्छ।
सुशील कोइरालाले सरलता, इमानदारी र संस्थाप्रतिको प्रतिबद्धतालाई राजनीतिमा स्थापित गर्ने प्रयास गर्नुभयो। संविधान जारी गर्ने ऐतिहासिक प्रक्रियामा उहाँले खेलेको भूमिकाले देखायो कि व्यक्तिगत लोकप्रियताभन्दा संस्थागत सफलता ठूलो हुन्छ।
शेरबहादुर देउवा नेपालको लोकतान्त्रिक आन्दोलनका लामो समयदेखि सक्रिय पात्र हुनुहुन्छ। पञ्चायतविरुद्धको आन्दोलनदेखि संवैधानिक लोकतन्त्रको रक्षा, शान्ति प्रक्रिया र विभिन्न राजनीतिक संक्रमणका चरणमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। उहाँप्रति समर्थन र आलोचना दुवै हुन सक्छन्, तर नेपालको लोकतान्त्रिक यात्रामा उहाँको योगदानलाई अस्वीकार गर्न सकिँदैन।
यी सबै नेताहरूको राजनीतिक शैली फरक–फरक थियो। उनीहरूबीच मतभेद पनि थिए। तर एउटा साझा विशेषता थियो—लोकतन्त्रमाथि संकट आउँदा उनीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र देशलाई प्राथमिकता दिए। यही इतिहास आजको कांग्रेसका लागि सबैभन्दा ठूलो पाठ हो।
आज कांग्रेस नयाँ नेतृत्वको चरणमा छ। नेतृत्व परिवर्तनसँगै नयाँ ऊर्जा, नयाँ सोच र नयाँ शैली आउनु स्वाभाविक हो। तर नेतृत्वको मूल्यांकन भाषणले होइन, व्यवहारले हुन्छ। सभापतिको कुर्सी कुनै एउटा समूहको प्रतिनिधित्व गर्ने पद होइन; त्यो सम्पूर्ण कांग्रेसको अभिभावक बन्ने जिम्मेवारी हो।
सफल सभापति त्यो होइन जसले आफ्ना समर्थकलाई मात्र अवसर दिन्छ। सफल सभापति त्यो हो, जसले असहमतिलाई पनि सम्मान गर्छ, फरक मतलाई पनि सुन्छ र सबैलाई एउटै छातामुनि उभ्याउन सक्छ। पार्टी सञ्चालनमा विजयभन्दा विश्वास ठूलो हुन्छ।
आज कांग्रेस नेतृत्वले इतिहासबाट एउटा प्रश्न सोध्नुपर्छ—बीपीले बनाएको पार्टी, गणेशमानले आन्दोलन गरेको पार्टी, कृष्णप्रसादले नैतिकताको उदाहरण बनाएको पार्टी, गिरिजाप्रसादले शान्ति प्रक्रियामा नेतृत्व गरेको पार्टी, सुशीलले संविधान जारी गरेको पार्टी र लोकतान्त्रिक आन्दोलनका अनेकौं ज्ञात–अज्ञात कार्यकर्ताको बलिदानले बनेको पार्टीलाई हामी कहाँ पुर्याउन चाहिरहेका छौं?
आज कांग्रेसभित्र विभिन्न धाराहरू छन्। त्यो लोकतान्त्रिक दलका लागि अस्वाभाविक होइन। तर धारालाई विभाजनमा, प्रतिस्पर्धालाई प्रतिशोधमा र असहमतिलाई शत्रुतामा बदल्ने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिका लागि घातक हुन्छ। कांग्रेसभित्र कुनै पनि नेता, कुनै पनि समूह वा कुनै पनि विचारधारालाई पूर्ण रूपमा अस्वीकार गरेर संगठन बलियो बन्दैन। कांग्रेसको शक्ति विविधताको सम्मानमा छ, एकरूपतामा होइन।
नेपाल अहिले जटिल राजनीतिक, आर्थिक र कूटनीतिक चुनौतीको सामना गरिरहेको छ। अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिवर्तन भइरहेको छ। आर्थिक सुस्तता, युवाको विदेश पलायन, सुशासनप्रतिको बढ्दो असन्तुष्टि र जनविश्वासको संकटले राजनीतिक दलहरूमाथि नयाँ जिम्मेवारी थपेको छ।
यस्तो समयमा प्रमुख प्रतिपक्षको भूमिका झन् महत्वपूर्ण हुन्छ। प्रतिपक्ष भनेको सरकारको विरोध मात्र गर्ने संस्था होइन; आवश्यक पर्दा सरकारलाई सही बाटो देखाउने, राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउने र लोकतान्त्रिक संस्थाहरूको रक्षा गर्ने जिम्मेवार शक्ति पनि हो।
यदि प्रमुख प्रतिपक्ष आफ्नै आन्तरिक विवादमा अल्झिन्छ भने त्यसको प्रत्यक्ष असर संसदको प्रभावकारिता, लोकतान्त्रिक बहस र जनविश्वासमा पर्छ। त्यसैले कांग्रेसको आन्तरिक एकता केवल पार्टीको आवश्यकता होइन, लोकतन्त्रको आवश्यकता पनि हो।
आज कांग्रेस नेतृत्वले इतिहासबाट एउटा प्रश्न सोध्नुपर्छ—बीपीले बनाएको पार्टी, गणेशमानले आन्दोलन गरेको पार्टी, कृष्णप्रसादले नैतिकताको उदाहरण बनाएको पार्टी, गिरिजाप्रसादले शान्ति प्रक्रियामा नेतृत्व गरेको पार्टी, सुशीलले संविधान जारी गरेको पार्टी र लोकतान्त्रिक आन्दोलनका अनेकौं ज्ञात–अज्ञात कार्यकर्ताको बलिदानले बनेको पार्टीलाई हामी कहाँ पुर्याउन चाहिरहेका छौं?
कांग्रेसभित्र मतभेद रहन सक्छन्, तर मतभेद स्थायी बन्नु हुँदैन। प्रतिस्पर्धा हुन सक्छ, तर प्रतिशोध हुनु हुँदैन। नेतृत्व परिवर्तन हुन सक्छ, तर विचार र इतिहास परिवर्तन हुँदैन।
आजको सभापतिले सबैभन्दा पहिले आफूलाई कुनै गुटको नेता होइन, सम्पूर्ण कांग्रेसको अभिभावकका रूपमा स्थापित गर्नुपर्छ। संगठनलाई जित–हारको मनोविज्ञानबाट निकालेर सहकार्यको संस्कृतिमा लैजानुपर्छ। अनुभवी नेताहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्न सक्ने नेतृत्वले मात्र कांग्रेसलाई पुनः जनविश्वासको केन्द्र बनाउन सक्छ।
अन्ततः, देश बलियो भयो भने मात्र राजनीतिक दल बलिया हुन्छन्। लोकतन्त्र सुरक्षित भयो भने मात्र कांग्रेसको भविष्य सुरक्षित हुन्छ। त्यसैले आज कांग्रेसको पहिलो दायित्व सत्ता प्राप्ति होइन, लोकतान्त्रिक मूल्य, संस्थागत एकता र राष्ट्रिय हितको रक्षा हो। इतिहासले कांग्रेसलाई बारम्बार अवसर दिएको छ। अब त्यो इतिहासको गरिमा जोगाउने कि आन्तरिक विभाजनमा अल्झिने भन्ने निर्णय वर्तमान नेतृत्वले गर्नुपर्नेछ।
समयले आज कांग्रेससँग एउटै अपेक्षा गरेको छ—व्यक्तिभन्दा विचार, गुटभन्दा संगठन, संगठनभन्दा माथि राष्ट्र। यही बाटो कांग्रेसको इतिहासले देखाएको बाटो हो, र यही बाटो नेपालको लोकतन्त्रको भविष्य पनि हो ।



राेशनराज पाण्डेय |
