
खाँडाचक्रको जग्गा विवादमा भूमि आयोगका पूर्वअध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको खाँडाचक्र नगर विकास समिति र सरकारी स्वामित्वमा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा गराएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग कालिकोटका अध्यक्ष धिरबहादुर बमसहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।
अख्तियारका अनुसार कालिकोट जिल्लाको खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको कित्ता नम्बर १७७२ तथा सरकारी प्रकृतिका कित्ता नम्बर ५७२ र ९२१ को जग्गा प्रचलित भूमि सम्बन्धी कानुनको विपरीत गैरकानुनी लाभ-हानि पुर्याउने बदनियतले व्यक्तिको नाममा कायम गरी भ्रष्टाचार गरिएको अनुसन्धानबाट खुलेको छ।
आयोगले आरोपीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफा आकर्षित गर्दै मुद्दा दायर गरेको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) तथा दफा १७ बमोजिम फरक-फरक बिगो कायम गरी सोही बमोजिम कैद, जरिवाना र बिगो असुल उपर गर्न मागदाबी गरिएको छ।
त्यस्तै सोही ऐनको दफा ९, दफा ११ र दफा १९ को उपदफा (२) बमोजिमसमेत कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबी आरोप-पत्रमा लिइएको छ।
सार्वजनिक तथा नगर विकास समितिको सम्पत्ति गैरकानुनी रूपमा कब्जा र दर्ता गराउने कार्यमा संलग्न दोषीहरूमाथि हदैसम्मको कारबाहीको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको जनाएको छ।



कागजपत्र |
