रास्वपा नेताको घरमा छापा, ५० लाख बढी मूल्यका मोबाइल पार्ट्स बरामद


रौतहट -रौतहट सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामान बरामद भएको छ।

सशस्त्र प्रहरीका अनुसार भन्सार छली गरी मोबाइलका पार्टपुर्जा तथा अन्य सामग्री लुकाएर राखिएको सूचनाका आधारमा  बुधबार दिउँसाे १ बजे उक्त घरमा छापा मारिएको हो।

सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टको निर्देशनमा परिचालित टोलीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका प्रमुख एसपी चेतराज जोशीको कमान्डमा ४५ जना सशस्त्र प्रहरी तथा गौर भन्सार कार्यालयका प्रतिनिधिसहित घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र बेवारिसे अवस्थामा लुकाएर राखिएको मोबाइलसँग सम्बन्धित विभिन्न सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्रीको प्रारम्भिक मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ रहेको बताइएको छ।

टोलीले सोही स्थानबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको छ। बरामद सामान र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको भन्सार कार्यालयका प्रमोदकुमार सिंहले जानकारी दिए।

ठूलो परिमाणमा मोबाइल पार्ट्स बरामद भएपछि उक्त सामान कुन नाका हुँदै नेपाल भित्रिएको थियो भन्ने प्रश्नसमेत उठेको छ। सशस्त्र प्रहरीले यसको स्रोत र ओसारपसारमा संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएको छ।

स्रोतका अनुसार घरधनी रामबाबु साहले भारतबाट भन्सार छली गरी मोबाइल पार्ट्स ल्याएर घरमै भण्डारण गर्ने र पछि चन्द्रपुर हुँदै काठमाडौंसम्म पठाउने गरेको दाबी गरिएको छ। घटनामा घरधनी वा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयसमेत अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।

बरामद सामानको वास्तविक स्रोत, स्वामित्व र ओसारपसारमा कसको संलग्नता थियो भन्ने कुरा अनुसन्धान पूरा भएपछि मात्रै स्पष्ट हुने देखिन्छ।

प्रतिक्रिया