
इन्डोनेसियामा अनलाइन ठगी गिरोहमा संलग्न ७ नेपाली पक्राउ
काठमाडौं- इन्डोनेसियामा अनलाइन ठगी गिरोहमा संलग्न रहेको आशंकामा सात जना नेपाली पक्राउ परेका छन्। सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो।
सोलो राया क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय ठगी गिरोहविरुद्ध गरिएको कारबाहीका क्रममा सात जना नेपालीसहित चार जना म्यानमारका नागरिकलाई पक्राउ गरिएको बताइएको छ।
स्थानीय सञ्चारमाध्यम कोम्पास डटकमका अनुसार उक्त गिरोहले करिब ४१.१ अर्ब इन्डोनेसियाली रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीका साइबर अपराध अनुसन्धान निर्देशक वरिष्ठ आयुक्त हिमावान सुतान्तो सारागिहका अनुसार आरोपितहरूले ‘रोमान्स स्क्याम’ शैली अपनाएर पीडितहरूसँग भावनात्मक सम्बन्ध बनाउने र त्यसपछि नक्कली लगानी तथा क्रिप्टोकरेन्सी योजनामा पैसा लगाउन प्रलोभन दिने गरेका थिए।
प्रहरीले एक कम्पनीको कार्यालयसहित विभिन्न छ वटा भाडाका कोठा गरी सात स्थानमा छापा मारेको छ। ‘पीटी डिगी ग्लोबल कन्सल्टेन्ट’ नामक कम्पनीलाई कामदार भर्ना तथा गिरोहको मुख्य सञ्चालन केन्द्रका रूपमा प्रयोग गरिएको आशंका गरिएको छ।
केही आरोपितहरूले भाडाका कोठाबाटै सामाजिक सञ्जालमार्फत ठगी गतिविधि सञ्चालन गर्ने गरेको पनि अनुसन्धानमा खुलेको छ।
अनुसन्धान अनुसार गिरोहले टिन्डर, बम्बल, ट्यानट्यानजस्ता डेटिङ एप तथा फेसबुकमार्फत सम्भावित पीडितसँग सम्पर्क गर्ने र विश्वास जितेपछि कुराकानीलाई निजी मेसेजिङ एपमा सारेर लगानीका नाममा रकम माग्ने गरेको थियो।
ठगीलाई विश्वसनीय देखाउन नक्कली पहिचान प्रयोग गरी महिलाका फोटो, भिडियो तथा प्रत्यक्ष भिडियो कलसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नेपालीमध्ये चार जना महिला र तीन जना पुरुष रहेका छन्, जसको उमेर २० वर्ष आसपास रहेको बताइएको छ। उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर इन्डोनेसिया लगिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
नेपाली महावाणिज्यदूतावासको समन्वय तत्काल नभए कानुनी प्रक्रिया जटिल हुन सक्ने अधिकारीहरूले बताएका छन्। मुद्दा अदालतमा पुगेपछि उनीहरूलाई जेल सजाय हुने सम्भावना उच्च रहेको बताइएको छ।



कागजपत्र |
