
वैदेशिक रोजगारीको नाममा करोडौँ ठगी गर्ने ९ जना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको आरोपमा ९ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बर्दिया मधुवन नगरपालिका–७ का ४२ वर्षीय राजेश क्षेत्री, मकवानपुर बकैया गाउँपालिका–२ का ३८ वर्षीय तिर्थमान भोलन, नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३९ वर्षीय गोवर्धन नेपाली, गोरखा पालुङटार नगरपालिका–६ का ३१ वर्षीय रोशन बाबु मल्ल, नुवाकोट विदुर नगरपालिका–१३ का ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका–१ का ४५ वर्षीय उज्वल थापा मगर, बर्दिया बढैयाताल गाउँपालिका–९ का ३२ वर्षीय प्रकाश सिंखडा, लमजुङ दुधपोखरी गाउँपालिका–५ की २३ वर्षीया ज्योती गुरूङ र पाल्पा पूर्वखोला गाउँपालिका–३ का ४५ वर्षीय राजिव न्यौपाने रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये राजेश क्षेत्रीले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितबाट १ करोड ४१ लाख ५१ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
त्यस्तै, तिर्थमान भोलन र गोवर्धन नेपालीले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितबाट सोही बराबरको रकम ठगी गरेको खुलेको छ ।
रोशन बाबु मल्लले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ, उपेन्द्र तामाङले मौरिसस पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
यसैगरी उज्वल थापा मगरले क्यानडा पठाइदिन्छु भन्दै २ लाख ५७ हजार रुपैयाँ, प्रकाश सिंखडाले कम्बोडिया पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ, ज्योती गुरूङले युएई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ तथा राजिव न्यौपानेले क्यानडा पठाइदिन्छु भन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीमा उल्लेख छ ।
पीडितहरूको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये राजेश क्षेत्री, तिर्थमान भोलन र गोवर्धन नेपालीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने बाँकीलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
