जेनजी आन्दोलनमा फरार कैदी वृद्धा हत्यामा संलग्न


काठमाडाैं- जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार भएका एक कैदीलाई वृद्ध महिलाको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

बागलुङको गल्कोट घर भई हाल पूर्वी नवलपरासीको गैँडाकोटमा बस्दै आएका ३१ वर्षीय सञ्जय बिकलाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको पूर्व नवलपरासीका प्रहरी प्रमुख (एसपी) युवराज खड्काले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बिकलाई काठमाडौँबाट वैशाख १५ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। उनीसँगै संलग्न रहेको आरोपमा उनकी प्रेमिका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ की २८ वर्षीया पुष्पादेवी सुपार्कलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ।

अनुसन्धानका क्रममा सञ्जय बिक र उनकी प्रेमिकाले २०८२ चैत २३ गते देवचुली नगरपालिका–१६ टाँगीकोटमा ७५ वर्षीया जिउनरा थनेतको हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ। डाँका चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरी उनीहरूले टाउकोमा हतियार प्रहार गरेर हत्या गरेको बताइएको छ।

सोही घटनामा घाइते भएकी मृतककी ७१ वर्षीया श्रीमती गुलवसनिया थनेतको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ।

यसअघि पनि सञ्जय बिकविरुद्ध गम्भीर आपराधिक घटना रहेको खुलेको छ। उनले २०८० मंसिर ५ गते तनहुँ घर भई पोखरामा बस्दै आएकी ३९ वर्षीया सुकु बिकलाई पोखराको एक होटलमा बलात्कार गरी हत्या गरेको अभियोगमा कास्की जिल्ला अदालतबाट जन्मकैदको फैसला भोगिरहेका थिए।

उनी सो सजाय भोगिरहेका बेला २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका थिए।

प्रहरी अनुसन्धान अनुसार फरार भएपछि पनि उनी आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए। २०८२ असोज १९ गते गैँडाकोट नगरपालिका–१० स्थित सम्झना चोकमा ७९ वर्षीया श्यामकुमारी श्रेष्ठको घरमा आगजनी गरी हत्या गर्दै सुनका गहना लुटेको आरोप पनि उनीमाथि लागेको छ।

प्रहरीका अनुसार सञ्जय र उनकी प्रेमिका विभिन्न स्थानमा डेरा सर्दै लगातार अपराधमा संलग्न हुँदै आएका थिए। प्रहरीले जनाएको छ, यदि उनी समयमै पक्राउ नपरेको भए थप ठूला अपराध हुन सक्ने सम्भावना थियो।

प्रतिक्रिया