क्यानडा पठाइदिने भन्दै १ करोड ५७ लाख ठगी, दुई मेनपावर सञ्चालक पक्राउ


काठमाडौं- डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना मेनपावर व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत पञ्जाब राज्य मोहाली जिल्लाका २६ वर्षीय अमित कुमार र भारत हरियाणा राज्य फरीदाबाद जिल्लाका ३० वर्षीय राहुल कुमार रहेका छन् ।

दुवै काठमाडौँ महानगरपालिका–११ मा रहेको डब्लूडब्लूआईसीएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका सञ्चालक भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई सोही मेनपावर कार्यालयबाटै पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार दुवैले ‘बिजनेस स्टार्टअप भिसा’मार्फत क्यानडा पठाइदिने भन्दै एक करोड ५७ लाख ६५ हजार ४ सय रुपैयाँ ठगी गरेका हुन् । प्रतिव्यक्ति ८० हजार अमेरिकी डलर लाग्ने भन्दै रकम असुलेको खुलेको छ ।

अनुसन्धानअनुसार उनीहरूले भिसा प्रक्रियाको प्रारम्भमै १० हजार अमेरिकी डलर अग्रिम रूपमा असुली गरेको पाइएको छ । डाक्टर र नर्स पेशामा रहेका व्यक्तिहरूलाई समेत भिसा दिलाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गरिएको प्रहरीले जनाएको छ ।

“नेपाली नागरिकको नाममा दर्ता भए पनि कार्यालय प्रमुखसहित अधिकांश कर्मचारी भारतीय नागरिक रहेको पाइएको छ,” एसएसपी खड्काले बताए ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया