
कांग्रेसमा एकताका लागि शेखर कोइरालाको ५ बुँदे प्रस्ताव
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम राख्न ५ बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका छन् ।
सभापति गगन थापासँग निरन्तर संवादमा रहेका कोइरालाले पार्टी विभाजन रोक्ने उद्देश्यसहित उक्त प्रस्ताव अघि सारेको बताइएको छ ।
उनको प्रस्तावमा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने र १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने, कार्यसम्पादन समिति सभापतिको बहुमत रहने गरी गठन गर्ने तथा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिमा मात्र गठन गर्नुपर्ने प्रस्ताव पनि समावेश छ ।
यता, सभापति गगन थापाले पनि पार्टी एकता कायम राख्न लचक हुन तयार रहेको बताउँदै आएका छन् । उनले पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहलाई समेटेर १५औँ महाधिवेशन गर्न तयार रहेको संकेत दिएका छन् ।
थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालाई वरिष्ठ नेता दिन तयार रहेको सन्देश पठाइसकेको बताइएको छ । यसअघि असन्तुष्ट समूहका १९ जना नेतालाई केन्द्रीय समितिमा समेटिसकिएको छ ।



कागजपत्र |
