
छोरा भेट्न अस्ट्रेलिया पुगेकी नेपाली महिलाको विमानस्थलमै मृत्यु
काठमाडौं- छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिला ठूली कान्छी तामाङको सिड्नी विमानस्थलमै निधन भएको छ ।
काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमान्सँगै छोरा राजु तामाङलाई भेट्न न्यू साउथ वेल्सस्थित वागा वागा जान अस्ट्रेलिया पुगेकी थिइन् ।
परिवारका अनुसार विमान सिड्नीमा अवतरण गरेपछि विमानस्थलमै उनी अचानक बेहोस भएकी थिइन् । तत्काल मेडिकल टोलीले सीपीआरसहित उपचारको प्रयास गरे पनि उनको ज्यान जोगाउन नसकिएको बताइएको छ ।
घटनापछि स्थानीय प्रहरीले परिवारलाई जानकारी गराएको थियो । अहिले एनआरएनए अस्ट्रेलियाको सहयोगमा शव नेपाल पठाउने तयारी भइरहेको छ ।
यसका लागि गोफन्डमीमार्फत आर्थिक सहयोग संकलन गरिएको छ । १५ हजार अस्ट्रेलियन डलर लक्ष्य राखिएको अभियानमा हालसम्म १६ हजार डलरभन्दा बढी रकम संकलन भइसकेको जनाइएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाल पठाइने तयारी भइरहेको परिवारले जनाएको छ ।



कागजपत्र |
