
देश बनाउन तीनै अंगको गति एउटै हुनुपर्छ : सभामुख अर्याल
काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश निर्माणका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच समान गति र समन्वय आवश्यक रहेको बताएका छन् ।
पूर्वसांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले कानुन निर्माणमार्फत देश विकास गर्न राज्यका तीनै अंग एउटै लक्ष्य र गतिमा अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले मुलुकलाई आवश्यक नीति तथा नियम निर्माण गर्न सबै पक्षको नियत स्पष्ट र सकारात्मक हुनुपर्ने धारणा राखे ।
सभामुख अर्यालले अग्रज पुस्ताको अनुभव, वर्तमान पुस्ताको सक्रियता र नयाँ पुस्ताको ऊर्जा एकसाथ जोड्न सके देश विकासले तीव्र गति लिन सक्ने बताए ।
उनका अनुसार संघीय संसद्ले आगामी पचास वर्षको आवश्यकतालाई दृष्टिगत गर्दै पुराना कानुन संशोधन तथा खारेज गर्ने र नयाँ कानुन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
जनताका लागि बनाइने कानुन व्यवहारिक र समयानुकूल हुनुपर्ने उल्लेख गर्दै उनले नागरिकमैत्री कानुन निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
सभामुख अर्यालले व्यवहारमा नमिल्ने धेरै कानुन अहिले पनि कायम रहेकाले ती कानुनलाई समयअनुसार संशोधन गर्दै जानुपर्नेमा समेत जोड दिए ।



कागजपत्र |
