
ग्रिनक्रस हस्पिटलमा शवबाट सुन गायब, अनुसन्धान सुरु
विराटनगर- विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा गायब भएको घटना सार्वजनिक भएको छ। घटनापछि अस्पतालको सुरक्षा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ।
उदयपुरको त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवार विष सेवनका कारण बिरामी भएपछि आफन्तले जेठ १ गते ग्रिनक्रस हस्पिटलमा भर्ना गरेका थिए। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो।
परिवारका अनुसार मृतक महिलाका दुवै कानमा करिब एक तोला सुनका मुन्द्रा रहेका थिए। तर मृत्यु घोषणा गरेलगत्तै मुन्द्रा हराएको पाइएको हो। आफन्तले तत्कालै प्रश्न उठाए पनि सुरुमा अस्पताल प्रशासनले घटना स्वीकार गर्न मानेको थिएन।
तर आफन्तले उपचारका क्रममा खिचिएको भिडियो प्रमाणस्वरूप देखाएपछि अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भएको बताइएको छ।
अस्पताल प्रशासनले पछि सीसीटीभी फुटेज जाँच गर्दा सुन हराएको पुष्टि भएको मृतकका आफन्तले बताएका छन्। परिवारका अनुसार बिरामीको मृत्यु घोषणा गर्नुअघि पर्दा लगाएर ईसीजी परीक्षण गर्ने क्रममा सुन चोरी भएको हुनसक्ने आशंका गरिएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी अस्पताल पुगेको थियो। त्यसपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति दिने सहमति जनाउँदै मृतक परिवारलाई करिब एक तोला सुन बराबरको चेक उपलब्ध गराएको छ।
तर अस्पताल सञ्चालक कृष्ण खवासले भने घटनाबारे गरिएको दाबी अस्वीकार गरेका छन्। उनले शव पोस्टमार्टमका लागि प्रहरीलाई बुझाइसकिएको र आफू बाहिर रहेको भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
मोरङका प्रहरी उपरीक्षक कवित कटवालले लासबाट सुन चोरी भएको विषयमा सूचना प्राप्त भएको र त्यसबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।



कागजपत्र |
