भक्तपुरको गाई फार्ममा आफ्नै साथीको हत्या


काठमाडौं – भक्तपुरमा खुकरी प्रहार गरी एक युवकको हत्या भएको छ। सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाईफार्ममा युवकको हत्या भएको हो।

सोलुखुम्बु घर भई मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए।

राईको हत्यामा संलग्न काठमाडौंको गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउ परेका छन्। ‘बिहीबार ४ बजेतिर हत्या भएको सूचना आएलगत्तै उनलाई तत्कालै नियन्त्रणमा लिएको हो,’ डिएसपी गिरीले भने।

लागूऔषधको विवादमा खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। खुकुरी प्रहार हुँदा युनिस योञ्जन र सुनिल बल पनि सँगै थिए, तर राईलाई खुकुरी हानेलगत्तै झ्यालबाट भागेका थिए ।

मृत्तक ईश्वरले बिहीबार बिहान आषिश खुलाल (मुख्य आरोपी) लाई फोनगरि उनको सिपाडोलस्थित गाई फर्ममा भेट्ने सल्लाह गरेका थिए।

त्यही मनोहरा सुकम्बासी बस्तीतिर बस्ने युनिस र सुनिल समेत तीन जना सिपाडोलस्थितमा पुगी आशिष खुलालसहित चारैजनाको भेट भएको थियो।

गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारैजना बसिरहेको अवस्थामा अचानक झैझगडा भएपछि आशिषले इश्वरमाथि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए। अन्य दुईजना भाग्न सफल भए भने इश्वरको घटनास्थलमै मृत्यु भयो।

प्रहरीका अनुसार उनीहरुका बीच लागूऔषधको बिषयमा झगडा भएको खुुलेको छ। ‘चारैजना दुर्व्यसनी भएको खुलेको छ, मुख्य आरोपीलाई पक्राउ गरेका छौं,’ भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया