वडाध्यक्षमाथि हमला प्रयास गर्ने तामाङ खुँडासहित पक्राउ


ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १० बाट गुण्डागर्दी गर्दै रहेको अवस्थामा खुँडासहित एक व्यक्ति पक्राउ परेका छन् ।

लाँकुरी भञ्ज्याङ प्रहरी चौकीबाट प्रसनि देवानन्द यादवको कमाण्डमा खटिएको एक प्रहरी टोलीले महालक्ष्मी नगरपालिका वडा नं. १० का वडाध्यक्ष बलराम लामालाई हमला गर्न लागेका सुरज तामाङलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष लामालाई बिहीबार काम माग गर्दै पटक–पटक थर्काउँदै खुँडा प्रहार गर्न लागेपछि प्रहरीले तामाङलाई खुँडासहित पक्राउ गरेको हो । निज तामाङले वडाध्यक्ष लामासँग विभिन्न ठेक्का पट्टाको काम माग्दै निजलाई विभिन्न समयमा धम्की दिँदै आएका थिए ।

निज तामाङ यसअघि पनि पटक पटक विभिन्न मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् । उनलाई यसअघि प्रहरीले लाँकुरी भञ्ज्याङको एक पसल तोडफोड गरेको आरोपमा खुकुरीसहित पक्राउ गरेको थियो भने पर्यटकीय स्थल लाँकुरीभञ्ज्याङमा पिकनिकका लागि जाने व्यक्तिहरुलाई लुटपाट गरेको आरोपमा पनि पक्राउ परिसकेका छन् ।

लाँकुरीभञ्ज्याङ चौकीले निजलाई थप कारबाहीका लागि सातदोबाटो प्रहरी चौकीमा बुझाएको प्रसनि यादवले बताए ।

 

प्रतिक्रिया