
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
लिस्बन (पोर्चुगल)- वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ४२ वर्षीय धरमराज भण्डारी यहाँ पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल भएका हुन्।
करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम पूरा गरेपछि उनी स्वयंसेवी अग्निनियन्त्रक बनेका हुन्।
तालिमपश्चात् आवश्यक प्रक्रिया पूरा गरेर भण्डारी सेतुबाल जिल्लाको मोइता नगरपालिकाअन्तर्गत रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ मा आबद्ध भएका हुन्।
उक्त संस्थाले केही साताअघि औपचारिक समारोहका बीच उनलाई अन्य पाँच नयाँ अग्निनियन्त्रकसँगै सेवामा प्रवेश गराएको थियो।
समारोहमा नवनियुक्त अग्नि नियन्त्रकहरूले संस्थाको झण्डासामु शपथ ग्रहण गर्दै सम्मान, कर्तव्यबोध र जिम्मेवारीका साथ समुदायको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
भण्डारीले स्वयंसेवी अग्नि नियन्त्रक बन्न पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको बताए। उनले भने, ‘विदेशी भूमिमा मानवीय सेवासँग जोडिन पाउनु एउटा नेपालीका रूपमा गर्वको कुरा हो। पोर्चुगलले हामीलाई धेरै दिएको छ, त्यसैले हामीले केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले यो सेवामा जोडिएको हुँ। यसलाई आत्मसन्तुष्टि र सौभाग्यका रूपमा लिएको छु।’
भण्डारीका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवी हो र यसमा कुनै पारिश्रमिक वा सुविधा हुँदैन। ‘यो विशुद्ध सामाजिक र मानवीय सेवा हो, जसले छुट्टै सन्तुष्टि दिन्छ’, उनले भने।
भण्डारीको यो यात्रा भने सहज थिएन। सुरुवातमा उनले धेरै संस्थामा अग्नि नियन्त्रणका लागि आवेदन दिए पनि अस्वीकृत हुनुपरेको थियो। अग्नि नियन्त्रक बन्ने चाहना व्यक्त गर्दा धेरैले अचम्म माने पनि अन्ततः ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ ले आफूलाई अवसर दिएको भन्दै उनले धन्यावाद दिए।
‘नियुक्ति प्रक्रियाकै क्रममा विदेशी नागरिकलाई अग्नि नियन्त्रक बनाउन नहुने भन्दै उजुरीसमेत परेको थियो, तर प्रशासनले उक्त उजुरी अस्वीकार गर्दै नियुक्ति दिएको छ’, भण्डारीले भने, ‘तालिममा सहभागी भएका २२ जनामध्ये छ जना मात्र छनोट भएका छौं। जसमा म मात्र एसियाली क्षेत्रको हुँ।’
उनको शपथ ग्रहण समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल विशेष अतिथिका रूपमा सहभागी भए। त्यस क्रममा राजदूत पौडेलले भण्डारीको उपलब्धिले नेपाल र नेपाली समुदायको गौरव बढाएको बताए। ‘यो उपलब्धि सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी छ। यसले पोर्चुगलमा नेपालीहरूको सकारात्मक छवि अझ मजबुत बनाएको छ’, उनले भने।
लामो समय अरब मुलुकहरूमा काम गरेपछि पाँच वर्षअघि पोर्चुगल पुगेका भण्डारीले सुरुमा रेस्टुरेण्टमा काम गरेको सुनाए। पछि एउटा कम्पनीमा ‘मेकानिक्स’ का रूपमा काम सुरु गरेपछि सामाजिक सेवामा संलग्न भएको उनको भनाइ छ।
पोर्चुगलको अग्नि नियन्त्रण सेवा सरकारी तथा स्वयंसेवी दुवै संरचनामा आधारित छ। यसले आगलागी नियन्त्रणका साथै आकस्मिक चिकित्सा सेवा, एम्बुलेन्स सेवा, सवारी दुर्घटना, बाढी तथा प्राकृतिक विपद्का बेला उद्धार र राहत कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
भण्डारी हाल परिवारसहित पोर्चुगलमा बसोबास गर्दै आएका छन्।



कागजपत्र |
