देउवा पक्षको निष्कर्ष: कांग्रेस एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार


काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आगामी रणनीति तय गर्न देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरूको भेला बसेको हो । सोही भेलाले पार्टीभित्रको एकता कायम गर्न नेतृत्वको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेको बताइएको छ ।

नेता कुन्दनराज काफ्लेका अनुसार सर्वोच्चको निर्णयपछि अब कुन दिशामा अघि बढ्ने भन्ने विषयमा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच छलफल सुरु गरिएको हो । उनले विगतमा कांग्रेसले भोगेका उतारचढावदेखि वर्तमान अवस्थासम्मका विषयमा पनि गहन समीक्षा भएको जानकारी दिए ।

भेलामा पार्टी एकता सुदृढ गर्न सबै नेता तथा कार्यकर्ताको आत्मबल बढाउनुपर्ने आवश्यकता औँल्याइएको थियो । ‘कांग्रेस एक हुनुपर्छ भने सबैको मनोबल उच्च हुनुपर्छ,’ काफ्लेले भने, ‘क्रियाशील सदस्य धेरै हुँदा पनि मत किन कम आयो भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।’

उनले पार्टीभित्र असन्तुष्ट पक्षलाई समेट्दै विगतका कमजोरीहरूको निष्कर्ष निकाल्नुपर्ने धारणा राखे । साथै, जनताले कांग्रेसप्रति असन्तुष्टि किन जनाए र साना दलतर्फ किन आकर्षित भए भन्नेबारे वर्तमान नेतृत्वले जिम्मेवारीपूर्वक समीक्षा गर्नुपर्ने बताए ।

काफ्लेले सानेपास्थित पार्टी कार्यालयमा खुला छलफलको वातावरण बनाउन वर्तमान नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया