
अमेरिकामा नेपाली युवती मृत फेला
सान फ्रान्सिस्को- अध्ययनका लागि अमेरिका पुगेकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियाका अनुसार प्रमिला त्रिपाठी भुर्तेलको निधन भएको हो ।
करिब पाँच वर्षअघि अमेरिका पुगेकी प्रमिला सान फ्रान्सिस्कोमा बस्दै आएकी थिइन् । एनआरएनए क्यालिफोर्नियाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उनको निधनको पुष्टि गरेको छ । ‘हामी भारी मनका साथ प्रमिलाको दुःखद निधनको खबर साझा गर्दैछौँ, उनले उज्ज्वल भविष्यका लागि धेरै संघर्ष गरेकी थिइन्,’ एनआरएनएले भनेकाे छ ।
प्रमिला एक सन्तानकी आमा रहेको र उनी आफैंले बच्चा हुर्काउँदै आएकी थिइन् । उनका श्रीमान् कहाँ छन् भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
प्रमिलाको निधनपछि क्यालिफोर्नियास्थित नेपाली समुदायले गहिरो चिन्ता व्यक्त गरेको छ । उनको अन्त्येष्टि, शिशुको हेरचाह तथा परिवारलाई तत्काल आर्थिक सहयोगका लागि चन्दा संकलन सुरु गरिएको छ ।
एभरेष्ट बिजनेस रोडम्यापका सीईओ युवराज कार्कीले घटनाको पुष्टि गर्दै नेपाली विद्यार्थीलाई विदेश पठाउँदा अभिभावक सचेत हुनुपर्ने बताए । उनका अनुसार प्लस टू पछि अमेरिका पुगेकी प्रमिला विश्वविद्यालय अध्ययन पूरा गर्न नसक्दा मानसिक समस्यामा परेको हुनसक्ने संकेत देखिएको छ ।
हाल एनआरएनए क्यालिफोर्नियाले अन्त्येष्टि व्यवस्थापन, बालकको भविष्य सुनिश्चित गर्ने तथा परिवारलाई सहयोग पुर्याउने तीन प्रमुख क्षेत्रमा सहयोग जुटाउने प्रयास गरिरहेको जनाएको छ । यसैबीच सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावाससँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेको छैन भने प्रमिलाको ठेगाना नेपालकाे पोखरा रहेको बुझिएको छ।



कागजपत्र |
