सरकारी अस्पतालमा आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने


काठमाडौं- सरकारी अस्पतालहरूमा आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू भएपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले मन्त्रालयले नयाँ व्यवस्था गरेको जनाएको छ।

मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यभार र जनशक्ति अवस्थालाई हेरी आइतबार ओपीडी सेवा सञ्चालन गर्न सक्नेछन्। यस व्यवस्था लागू गर्दा स्वास्थ्यकर्मीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने वा आवश्यक परे सट्टा बिदा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ।

त्यस्तै, प्रदेशस्तरका अस्पतालहरूमा पनि सोही अनुसार सेवा सञ्चालन गर्न सम्बन्धित सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया