
औषधि मूल्यवृद्धि प्रकरण : महानिर्देशक ढकाल छानबिनको दायरामा
काठमाडौं- कानुन विपरीत औषधिको मूल्यवृद्धि गरिएको आरोपमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानबिनको दायरामा परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तत्काल छानबिन गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई पत्राचार गर्दै सात दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री कार्यालयमा कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भन्दै उजुरी परेको उल्लेख गर्दै सोही आधारमा छानबिन प्रक्रिया अघि बढाइएको हो।
निर्देशनअनुसार औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, सो प्रक्रिया पालना गरिएको छ वा छैन, तथा मूल्य निर्धारणमा कुनै अनियमितता भएको छ कि छैन भन्ने विषयमा विस्तृत अध्ययन गरिनेछ।
साथै, यस प्रकरणमा संलग्न हुन सक्ने व्यक्तिहरूको पहिचान गर्न पनि मन्त्रालयलाई निर्देशन दिइएको छ।
यसका लागि विषयगत विज्ञहरू समेटिएको तीन सदस्यीय छानबिन समिति गठन गर्न र सात दिनभित्र प्रतिवेदन बुझाउन पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ।



कागजपत्र |
