
नक्कली अनुभवको आधारमा नियुक्ति, कम्पनी सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र पेस गरी सरकारी ओहोदा प्राप्त गरेको र करोडौँ बराबरको सुविधा लिएको पुष्टि भएपछि आयोगले चैत १७ गते आरोपपत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा पोख्रेलले २०७३ सालमा कम्पनी सचिव पदमा नियुक्ति पाउन गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडमा वरिष्ठ अधिकृतका रूपमा काम गरेको नक्कली अनुभव पत्र पेस गरेको पाइएको छ। सम्बन्धित हाइड्रोपावर कम्पनीले उनी आफ्नो कार्यालयमा कहिल्यै कार्यरत नरहेको र उनले पेस गरेको प्रमाणपत्रको कुनै अभिलेख नरहेको जानकारी अख्तियारलाई दिएको थियो।
सोही झुटो विवरणका आधारमा पोख्रेल २०७३ फागुन १० गतेदेखि सेवा करारमा नियुक्त भएका थिए। झन्डै ९ वर्षको अवधिमा उनले तलब, भत्ता तथा अन्य सुविधामार्फत कुल १ करोड ७ लाख १ हजार ५ सय ८४ रुपैयाँ बराबरको लाभ लिएको अख्तियारले जनाएको छ।
सार्वजनिक निकायको जिम्मेवार पद प्राप्त गर्न नक्कली कागजात पेस गर्नु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसारको कसुर हुने ठहर गर्दै आयोगले उनलाई कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो।



कागजपत्र |
