‘धुरन्धर २’ ले तोड्यो बक्स अफिसका सबै रेकर्ड


मुम्बई-  बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर २: द रिभेन्ज’ ले बक्स अफिसमा लगातार नयाँ–नयाँ कीर्तिमान कायम गरिरहेको छ। प्रदर्शनको दोस्रो सातामा प्रवेश गरे पनि चलचित्रको क्रेज घटेको छैन, बरु व्यापार अझै मजबुत देखिएको छ।

चलचित्रले प्रदर्शनको ११औँ दिनमा भारतमा मात्र ६८.१० करोड नेट कलेक्सन गरेको छ। यससँगै भारतमा यसको कुल नेट कलेक्सन ८४६.८७ करोड पुगेको छ। यो कमाइले पहिलो भाग ‘धुरन्धर’ को लाइफटाइम कलेक्सन ८०४ करोडलाई समेत उछिनेको छ।

विश्व बजारमा पनि चलचित्रको प्रदर्शन उल्लेखनीय देखिएको छ। विदेशमा करिब ३५० करोडको व्यापार गर्दै यसको कुल विश्वव्यापी ग्रस कलेक्सन १,३६१.९५ करोड पुगेको छ। यससँगै ‘धुरन्धर २’ ले पहिलो भागको विश्वव्यापी कलेक्सन १,३०७ करोडको रेकर्ड पनि तोडेको छ।

प्रख्यात ट्रेड विश्लेषक तरण आदर्शका अनुसार ‘धुरन्धर २’ दोस्रो हप्तामा सबैभन्दा बढी कमाउने हिन्दी चलचित्र बनेको छ। दोस्रो हप्ताको शुक्रबारदेखि आइतबारसम्म मात्र चलचित्रले १६४ करोड कमाएको छ, जबकि पहिलो भागले सोही अवधिमा १४६.६० करोड कमाएको थियो।

चलचित्रको यही सफलताका कारण अन्य फिल्मको रिलिज तालिका समेत प्रभावित भएको छ। अक्षय कुमारको आगामी चलचित्र ‘भूत बंगला’ को प्रदर्शन मिति ‘धुरन्धर २’ सँगको प्रतिस्पर्धाबाट जोगिन सारिएको छ। अब उक्त चलचित्र १० अप्रिलको सट्टा १७ अप्रिल, २०२६ मा प्रदर्शन हुने बताइएको छ।

प्रतिक्रिया