नख्खिपोटमा जुवा खेल्दै गर्दा ६ जना पक्राउ


ललितपुर- नख्खिपोट क्षेत्रमा जुवा र तास खेलाउँदै होहल्ला मच्चाइएको सूचनापछि प्रहरीले छापा मार्दै ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त सातदोबाटोको टोलीले विशेष सूचनाका आधारमा उक्त स्थानमा पुगेपछि छानबिनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

सातदोबाटो प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार शेरबहादुर थापाको घरमा डेरा लिएर जुवा तथा तास खेलाउने गतिविधि सञ्चालन भइरहेको पाइयो ।

प्रहरीले सो स्थानबाट पाँचथर घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी ४० वर्षीया योजना लिम्बुसहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट १ लाख ३६ हजार ९ सय ५० रुपैयाँ नगद र २४ बुक तास बरामद गरिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको र विस्तृत विवरण पछि सार्वजनिक गरिने डीएसपी चन्दले जानकारी दिइन् ।

प्रतिक्रिया