किन जोगिएन गगनको गरिमा ?

राजीनामाको नाटक नैतिकताको हत्या !


राजिनामाको यो नाटकले गगनको गरिमा जोगाउन सकेन- बरु झन् नाङ्गो बनायो। फागुन २१ को हारपछि नैतिकताको नाममा दिइएको राजीनामा, अनि त्यसलाई केन्द्रीय कार्यसमितिले एक स्वरमा अस्वीकार गर्ने खेल-यो केबल नाटक होइन भने के हो ? कार्यकर्ताले हारेको पीडा बिर्सिएका छैनन् तर नेताहरूले आफ्नै कुर्सी जोगाउने अभिनय मात्र गरे।

आजको केन्द्रीय कार्यसमिति निर्णय गर्ने हैसियतको छैन । भृकुटीमण्डपको तालीबाट बनेको नेतृत्वले सिद्धान्त होइन, सुविधा हेर्छ। त्यहाँ विचार छैन, त्यहाँ इमान छैन- त्यहाँ केबल अवसरको भोक छ। यही भीडले गगनलाई उचाल्यो, यही भीडले आज उनलाई घेरेर कमजोर बनायो। त्यसैले आजको कांग्रेस, नेपाली कांग्रेस कम, ‘गगन कांग्रेस’ बढी देखिन्छ- र यो अवस्था खतरनाक छ। यदि नैतिकता हुँदो हो भने सिंगो कार्य समितिले राजिनामा बुझाउँथ्यो किनकी हारको जिम्मेवार उनीहरू पनि हुन् । कांग्रेसको हारबाट कोही अछुतो छैन ।

सत्य कुरा के हो भने, विशेष महाधिवेशनको हल्ला गरेर केही हुँदैन। समस्या व्यक्ति मात्र होइन, संरचना हो, जुन सडेको छ। टाउको फेरेर शरीर निको हुँदैन। वडादेखि केन्द्रसम्म सफाइ नगरी चुनावमा जानु भनेको फेरि हारको निम्तो हो। यो कुरा नेतृत्वले बुझ्नै खोजेन/चाहेन ।

जनता नाममा होइन, विश्वासमा भोट दिन्छन्। बालेन शाहको नाम चलेको होइन, उनले बनाएको भरोसा चलेको हो। यही कुरा कांग्रेसले बुझेन भने, इतिहासले फेरि सजाय दिन्छ। तर सम्भावना मरेको छैन-भोलि फेरि गगनकै नाममा लहर आउन सक्छ। तर त्यो लहर नाटकले होइन, नैतिकता र इमानले मात्र आउँछ।

अब ढाकछोपको राजनीति बन्द गरौं। हिजोको गल्तीलाई सेतो रंग लगाएर बचाउन खोज्ने दिन सकियो। अब स्पष्ट भनौं- कांग्रेस कमजोर भएको हो, नेतृत्व चुकेको हो, र गगन पनि त्यो कमजोरीबाट मुक्त रहेनन् । गगन विकल्प हुन्, तर अधुरो विकल्प। पहिले गगन आफैं बदलिनु पर्छ । आफ्नो शैली, आफ्नो घेरा, आफ्नो निर्णय। सुधार त्यहाँबाट सुरु हुनुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताले एउटा कठोर सन्देश दिएको छ – जनता नाममा होइन, विश्वासमा भोट दिन्छन्। बालेन शाहको नाम चलेको होइन, उनले बनाएको भरोसा चलेको हो। यही कुरा कांग्रेसले बुझेन भने, इतिहासले फेरि सजाय दिन्छ। तर सम्भावना मरेको छैन-भोलि फेरि गगनकै नाममा लहर आउन सक्छ। तर त्यो लहर नाटकले होइन, नैतिकता र इमानले मात्र आउँछ।

अब निर्णय गर्नुपर्छ- स्पष्ट र कठोर। देउबा कमिटी होस् वा गगन कमिटी, दुबै भंग हुनुपर्छ। गुटको राजनीतिले कांग्रेसलाई थला पारेको छ। देउवा, शेखर, गगन- यी नाम होइन, समस्या बनेका छन्। समाधान एउटै हो- गुटरहित महाधिवेशन। तत्काल मिति घोषणा गरौं, नयाँ नेतृत्व छानौं, नयाँ सुरुवात गरौं।

टिकट अब चाकडीका आधारमा होइन, संघर्षका आधारमा बाँडिनुपर्छ। सचिवालयका मान्छे, घरका नजिकका, पैसाका खेलाडी होइन, जनताको बीचमा पसिना बगाएका कार्यकर्ताले टिकट पाउनुपर्छ। यही परिवर्तन नगरेसम्म परिणाम बदलिँदैन।

र एउटा कुरा, नेतालाई जयजयकार गर्नेहरू मात्रै कार्यकर्ता होइनन्। प्रश्न गर्नेहरू, असहमति राख्नेहरू, आँखा जुधाएर सत्य बोल्नेहरू—तिनीहरू नै पार्टीका असली शक्ति हुन्। तिनलाई दबाउने होइन, सुन्ने हो। किनकि भोलि कांग्रेसलाई जिउँदो राख्ने लासजस्तो मौन भीड होइन, यिनै जिउँदा कार्यकर्ता हुन्।

अब पनि नबुझ्ने हो भने, कांग्रेस बिस्तारै इतिहासको पानामा सीमित हुनेछ। त्यसैले आजै निर्णय गरौं-देउवा कांग्रेस, शेखर कांग्रेस, गगन कांग्रेस होइन‘ अब केवल एउटा कांग्रेस- नेपाली कांग्रेस।

 

प्रतिक्रिया