
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायलाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
धनुषा- प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश र धनुषा जिल्लामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन प्रदेश सरकार र सुरक्षा निकायले खेलेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद व्यक्त गरेकी छन्।
जनकपुर विमानस्थलमा आज आयोजित सुरक्षा बैठकमा सम्बोधन गर्दै उनले मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रदेशका उच्च सुरक्षा अधिकारीहरू र धनुषाका सुरक्षा प्रमुखलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान दिएका कारण प्रशंसा गरिन्।
प्रधानमन्त्री कार्कीले विभिन्न चुनौती र आशङ्का भइरहे पनि ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार र सुरक्षा निकायको भूमिका सराहनीय भएको बताइन्।
बैठकमा मधेस प्रदेश सरकारका निमित्त मुख्य सचिव कमलप्रसाद भट्टराई, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद दाहालसहित अन्य सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।



कागजपत्र |
