
कैलालीमा गुल्ममै छिरेर सशस्त्रका डीएसपीमाथि हातपात गर्ने एकजना पक्राउ
कैलाली- कैलालीको खक्रौला भन्सार नजिक रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा भएको आक्रमण प्रकरणमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउद रहेका छन्।
प्रहरीका अनुसार साउदमाथि गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि हातपात तथा आक्रमण गरेको आरोप लगाइएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा साउदसहित अन्य पाँच जनाविरुद्ध पनि जाहेरी दर्ता गरिएको छ। फरार रहेका ती व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
मंगलबार टीकापुरका व्यवसायीहरूको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको थियो। सोही विवाद उत्कर्षमा पुग्दा सीमा सुरक्षा गुल्ममै आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



कागजपत्र |
