
पशुपतिमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ
काठमाडौं- शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलोदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३, चागलमा बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार श्रेष्ठलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।
घटनाका क्रममा श्रेष्ठले पशुपतिमा ड्युटीमा रहेका एक प्रहरीलाई लात्तीले छातीमा प्रहार गरेका थिए। प्रहरीमाथि कुटपिट गरिएको दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना सार्वजनिक भएको थियो।
मंगलबार प्रहरीले एक सूचना जारी गर्दै प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको थियो।
सूचनापछि प्राप्त जानकारीका आधारमा आरोपीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।



कागजपत्र |
