
स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग पुनः सञ्चालन
काभ्रे – टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध बनेको बनेपास्थित अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग खुलाइएको हो।
बनेपा नगरपालिकाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको दुर्घटनामा स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो। ओमनको मृत्युको खबर फैलिनासाथ आक्रोशित स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए।
बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ। दुर्घटनापछि बनेपा क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।
आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मीको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रु ग्याँस प्रहार गरेको थियो।
हाल सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिइसकेको र राजमार्गमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।



कागजपत्र |
