
गोदावरी नगरपालिकाका इन्जिनियर सुबास बिष्टविरुद्ध अकुत सम्पत्ति मुद्दा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत करार इन्जिनियर सुबास बिष्टविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको निष्कर्षसहित आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार नगरपालिकामा इन्जिनियरका रूपमा कार्यरत रहेपछि बिष्टले अत्यन्तै छोटो अवधिमै अस्वाभाविक रूपमा ठूलो सम्पत्ति जोडेको पाइएको छ। आयोगले २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको पाँच वर्षे अवधिमा उनको आय–व्ययको विस्तृत जाँचबुझ गरेको थियो।
अनुसन्धानमा उक्त अवधिमा बिष्टको वैध आय जम्मा १ करोड २७ लाख ७४ हजार ६ सय ७३ रुपैयाँ मात्र देखिएको छ। यसमा तलब–भत्ता, श्रीमतीको तलब बचत, ऋण सापटी तथा सेयर बिक्रीबाट प्राप्त रकम समेटिएको अख्तियारले जनाएको छ।
तर, सोही अवधिमा उनले ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको भेटिएको छ। यसअनुसार उनको वैध आम्दानीभन्दा १ करोड ९७ लाख १० हजार १ सय ५७ रुपैयाँ बढी खर्च भएको अख्तियारको निष्कर्ष छ।
झन्डै २ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि आयोगले उक्त रकम भ्रष्टाचारजन्य आम्दानी भएको ठहर गरेको हो। अनुसन्धानका क्रममा बिष्टले जग्गा खरिद, घर निर्माण, सेयर बजारमा लगानी, छोराको अध्ययन खर्च, विभिन्न कम्पनीमा लगानी तथा बैंक ऋण भुक्तानीमा भ्रष्टाचारबाट आर्जित रकम प्रयोग गरेको खुलेको छ।
अख्तियारका अनुसार सार्वजनिक सेवामा रहेर उनले असामान्य उच्च जीवनशैली अपनाएको, साथै पेस गरेको सम्पत्ति विवरण र वास्तविक सम्पत्तिबीच ठूलो अन्तर देखिएको छ। गैरकानुनी रूपमा आर्जित सम्पत्ति बुबा सुदर्शन बिष्टको नाममा लुकाएर राखिएको समेत अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
अवैध सम्पत्ति व्यवस्थापनमा सहयोग गरेको आरोपमा इन्जिनियर सुबास बिष्ट र उनका बुबा सुदर्शन बिष्ट दुवैलाई प्रतिवादी बनाइएको छ। आयोगले अवैध सम्पत्ति जफतसहित कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।




कागजपत्र |
