
पूर्वसैनिकसहित दुई जना पक्राउ, कस्तुरीको बिना बरामद
काठमाडौं– कस्तुरीको बिनासहित एक पूर्वसैनिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भई शेषमतीमै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकामध्ये सरोज परियार पूर्वआर्मी रहेको प्रहरीले जनाएको छ। एक अनुसन्धान अधिकृतका अनुसार उनी नेपाली सेनाको अन्य दर्जा (परिचर) पदका पूर्वकर्मचारी हुन्।
कस्तुरीको बिना बिक्री वितरण गर्न लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरूबाट ३० ग्राम बराबरको कस्तुरीको बिना बरामद गरिएको छ।
यसैबीच, पक्राउ परेका जितेन्द्रबहादुर चन्द दुई वटा मुद्दाका फरार अभियुक्त रहेको खुलेको छ। उनीविरुद्ध २०७५ मंसिर १७ गते प्रहरी वृत्त बालाजुमा डाँका चोरी मुद्दा दर्ता भएको थियो। त्यस्तै, २०८१ वैशाख १७ गते प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएकोमा पनि उनी फरार थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



कागजपत्र |
