विदेश रोजगारीको प्रलोभनमा रकम उठाउने ३ जना पक्राउ


काठमाडौं-  आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई विदेश पठाउने आश्वासन दिई रकम उठाउने तीन जनालाई काठमाडौँ उपत्यकाबाट पक्राउ गरिएको छ।

काठमाडौँ प्रहरीका अनुसार, पीडितहरूले जाहेरी दिएपछि अनुसन्धान गर्दा ती व्यक्ति लामो समयसम्म विदेश पठाउने आश्वासन दिई सम्पर्कविहीन बनेको खुलेको थियो। पक्राउ परेकालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

पक्राउ परेकामा रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१० का ३० वर्षीय अभिशेष कराला रहेका छन्। हाल काठमाडौँ, तार्केश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएका करालाले माल्दिभ्स पठाइदिने आश्वासनमा एक व्यक्तिबाट तीन लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई सोमबार काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरिएको हो।

त्यसैगरी ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका–५ की ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु पनि पक्राउ परेकी छन्। हाल काठमाडौँ महानगरपालिका–३२ मा बसोबास गर्दै आएकी लिम्बुले युएई पठाइदिने भन्दै एक जनाबाट एक लाख ५० हजार रुपैयाँ उठाएको बताइएको छ। उनलाई पनि सोमबार सोही स्थानबाट पक्राउ गरिएको हो।

यसै घटनामा अर्घाखाँची, मालारानी गाउँपालिका–१ का ४६ वर्षीय चेतनारायण आचार्य पनि पक्राउ परेका छन्। हाल बुढानिलकण्ठ नगरपालिका–७ मा बस्दै आएका आचार्यले बेलायत पठाइदिने आश्वासनमा एक जनाबाट १३ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। उनी पनि सोमबार काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरिएको छ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार, तीनै घटनामा प्रत्येक मुद्दामा एक–एक पीडित रहेका छन् र थप अनुसन्धान जारी छ।

प्रतिक्रिया