
ठमेलको टर्टल क्लबमा युवकमाथि आक्रमण गर्ने सुमन पक्राउ
काठमाडौं- ठमेलको टर्टल लाउन्ज एन्ड क्लबमा एक युवामाथि ज्यान जाने गरी आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासन्दरी गाउँपालिका–५ घर भएका ३४ वर्षीय सुमन (विष्णु श्रेष्ठ) छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति १० बजे ठमेलबाट पक्राउ गरेको हो।
पक्राउ परेका सुमनले ६ पुसमा उक्त क्लबमा रोशनकुमार शाही (राजकुमार) नामक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेको पाइएको छ। अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, कुटपिट गर्ने व्यक्तिको र पीडितको कुनै पूर्व चिनजान थिएन। सुमनले फलामको लेजर लाइट प्रयोग गरी युवकको अनुहारमा प्रहार गरेका थिए। जसबाट पीडितको नाक समेत भाँचिएको थियो।
प्रहरीका अनुसार, सुमनविरुद्ध यसअघि पनि विभिन्न अपराधमा सात पटक मुद्दा चलेको थियो। अहिले ठमेलको यो घटनासहित सुमनविरुद्ध आठौं पटक मुद्दा दर्ता भएको छ। प्रहरीले जनाएका अनुसार उनी ठमेल क्षेत्रमा क्लबमा गुण्डागर्दी गर्दै हिँड्ने गरेका थिए।



कागजपत्र |
