
वीरगन्जका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी
पर्सा- वीरगन्ज महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। धनुषामा मस्जिद तोडफोडको विरोधमा भएको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जको संवेदनशील क्षेत्रमा यस्तो कदम चालेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी निषेधाज्ञा अनुसार, तोकिएका क्षेत्रमा कुनै प्रकारको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न नपाइनेछ। आदेश उल्लङ्घन गरेमा जोकोहीलाई नियन्त्रणमा लिएर कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
निषेधाज्ञा बसपार्कको पूर्वी क्षेत्र, सिर्सिया पुलको पश्चिम क्षेत्र, पावर हाउस चोकको उत्तर र शंकराचार्य गेटको दक्षिण क्षेत्रमा लागू गरिएको छ।
धनुषाको धनुकमला नगरपालिका–६ सखुवा मरानमा दुई फरक समुदायबीच विवादपछि मस्जिदमा तोडफोड र मुस्लिम धर्मग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यसको विरोध स्वरूप वीरगन्जमा आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए। त्यसको प्रतिवादमा हिन्दुवादी सङ्गठनहरूले सोमबार बिहानैदेखि विरोध प्रदर्शन जारी राखेका थिए। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।
प्रशासनले सुरक्षा कडा गर्दै स्थिति नियन्त्रणमा लिन पहल सुरु गरेको छ।



कागजपत्र |
