औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको एक औषधि तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले आज सूचना जारी गर्दै ‘लेभोफ्क्स–५००’ ट्याबलेटको एक ब्याच न्यून गुणस्तरको पाइएकाले बजारबाट फिर्ता गर्न आदेश दिएको हो।

सूचनाअनुसार मेग्नस फर्मा प्रालिले उत्पादन गरेको ‘लेभोफ्क्स–५००’ ट्याबलेटको ब्याच नम्बर ‘बिबी–२४००१’ फिर्ता गर्न भनिएको छ। यो औषधि ब्याक्टेरिया सङ्क्रमणको उपचारमा प्रयोग हुँदै आएको छ। विभागले उक्त ब्याच नम्बर उल्लेख भएका औषधिको सिफारिस, बिक्री, वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

राष्ट्रिय औषधि प्रयोगशालाले बजारमा उपलब्ध औषधिको नमुना सङ्कलन गरी परीक्षण गर्दा सो ब्याचको औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ। औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गर्दै औषधि तत्काल बजारबाट फिर्ता गर्न तथा वितरणको विवरणसहित विभागमा पेस गर्न सम्बन्धित उद्योग र तिनका प्रतिनिधिलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया