
वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ
काठमाडौं- काठमाडौंको ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई ठगीसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
क्यासिनोभित्र डमी खेलाडी तयार गरी आँखामा विशेष लेन्स प्रयोग गर्ने र तासमा चिप्स जडान गरेर जुवा खेलाइने ठगी धन्दामा संलग्न रहेको आशङ्कामा अध्यक्ष च्यानलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अलफ्ट होटलमा सञ्चालित उक्त क्यासिनोमा ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाइ भारतीय समूहले संगठित रूपमा ठगी धन्दा सञ्चालन गर्दै आएको देखिएको छ। सो समूहले क्यासिनो खेललाई योजनाबद्ध रूपमा नियन्त्रण गरी खेलाडीलाई ठग्ने रणनीति अपनाएको प्रहरीको निष्कर्ष छ।
यसअघि ठगी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले मङ्सिर २६ गते भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजनसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि क्यासिनो खेललाई प्रयोग गरी ठूलो रकम ठगी गरेको आरोप छ।



कागजपत्र |
