
बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवकलाई ३ वर्ष जेल सजाय
काठमाडौं- अष्ट्रेलियाको क्यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई ३ वर्षको जेल सजाय सुनाएको छ। ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारका दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै सजाय सुनाइएको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्युजले जनाएको छ।
अभियोगअनुसार तिमल्सिनाले क्यानबेराको वेस्टफिल्ड बेलकन्ननमा रहेको आर्ट पसलमा काम गर्ने क्रममा ग्राहक युवतीमाथि बलात्कार गरेका थिए। घटना नोभेम्बर २०२२ मा भएको थियो। पीडित पसलमा सामान किन्न आएकी थिइन्। तर तिमल्सिनाले पसलको सटर बन्द गरे, महिलालाई कामको सर्ट लगाउन बाध्य पारे, उनको फोटो खिचे र सहमति बिना चुम्बन गरे।
त्यसपछि उनले महिलालाई पसलको पछाडिको कोठामा लगे जहाँ महिलाले ‘असफल प्रतिरोध’ गरे पनि उनले दुई पटक बलात्कार गरेका र धेरै पटक अश्लील दुर्व्यवहार गरेका थिए।
एसीटी सुप्रिम कोर्टका न्यायाधीश भेरिटी म्याकविलियमले फैसलामा भनेका छन्, “तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने योजनाबद्ध रूपमा वातावरण तयार पारे। उनले पसलको रोलर ढोका बन्द गरे, स्वतःस्फूर्त फोटो खिच्न थाले र महिलालाई आफ्नो शर्ट फेर्न आग्रह गरे। पीडित पसलभित्र बन्द स्थितिमा थिइन्, जसले उनीमाथि जोखिम झन् बढायो।”
तिमल्सिना नेपालमा हुर्किएका हुन्। अदालतको निर्णय अनुसार उनी १२ महिनाभन्दा बढी जेलमा बसेमा निर्वासनको जोखिममा पर्ने छन्।



कागजपत्र |
