
कैलालीबाट पेस्तोलसिहत पूर्वमुख्यमन्त्रीका भाई पक्राउ
कैलाली- कैलालीमा एक युवकको हत्या आरोपमा एकजनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्ति दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार बर्दिया र कैलाली प्रहरीले संयुक्त रूपमा संचालन गरेको विशेष अभियानबाट चौधरीलाई कैलारी गाउँपालिका–२ बाट नियन्त्रणमा लिइएको हो।
प्रहरी निरीक्षक बिष्टले बताएअनुसार चौधरी बर्दियाको राजापुर नगरपालिका–४ मा अवस्थित ‘हमार थारू रेस्टुरेन्ट’मा आइतबार राति भएको गोलीकाण्डका मुख्य अभियुक्त हुन्। सो घटनामा दाङ तुलसीपुर–६ का २८ वर्षीय निरज चौधरीको गोली लागेर मृत्यु भएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार निरज र महावीरबीच लेनदेनसम्बन्धी विवाद लामो समयदेखि चल्दै आएको थियो। सोही विवाद चर्किँदा आवेगमा आएर महावीरले निरजमाथि गोली प्रहार गरेको बर्दिया प्रहरीले जनाएको छ।
घटनास्थलबाट फरार भएका महावीरलाई पक्राउ गर्दा उनीसँग एक थान पेस्तोल पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका महावीर लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ भएको खुलेको छ।



कागजपत्र |
