
म्यानमारमा फसेका ४७ नेपालीको उद्धार
काठमाडौं- लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीलाई उद्धार गरी बुधबार नेपाल फर्काइएको छ। नेपाल फर्काइएका मध्ये २ जना महिला र ४५ जना पुरुष छन्।
अध्यागमन विभागका प्रवक्ता टीकाराम भट्टराईका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले विभिन्न निकायसँगको निरन्तर समन्वय र सहकार्यमार्फत उनीहरूको उद्धार सम्भव भएको हो। राम्रो काम र उच्च तलबको प्रलोभन देखाइ उनीहरूलाई म्यानमार पुर्याइएको थियो। आईटी कम्पनीमा जागिर लगाइदिने, मासिक लाखौं कमाइ गराइदिने जस्ता आकर्षक प्रस्तावका कारण उनीहरू म्यानमार पुगेका थिए।
थाइल्यान्डस्थित नेपाली दूतावासले त्यहाँका सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै उनीहरूलाई उद्धार गरी नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौं ल्याइएको हो।
पीडितहरू सामाजिक सञ्जाल फेसबुक, टिकटक, टेलिग्राम, ह्वाट्सएप तथा पब्जी खेलका साथी वा चिनजानका व्यक्तिमार्फत प्रलोभनमा परेका थिए। उनीहरूलाई अफिसको काम, डाटा इन्ट्री जस्ता रोजगारी देखाएर भारत र दुबई हुँदै म्यानमार पुर्याइएको थियो।



कागजपत्र |
