१२ वर्षकी अंशुको भएको थियो बलात्कारपछि हत्या, ‘अपरेसन जग’मार्फत यसरी समातिए छिमेकी


विराटनगर –  मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमको रहस्यमय मृत्युको रहस्य उजागर गर्दै नेपाल प्रहरीले करिब साढे दुई महिनाको गहन अनुसन्धानपछि घटनालाई बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ। प्रहरीले घटनामा संलग्न ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

अधिकारीलाई मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको छ।

‘अपरेसन जग’ मार्फत अनुसन्धान

असोज २१ गते घरबाट हराएकी अंशुको शव १८ दिनपछि (कात्तिक ७) चारकोशे झाडीमा सबै वस्त्र अलग र शरीर, टाउको अलग भएको अवस्थामा कंकालको  रूपमा फेला परेको थियो। घटनाको संवेदनशीलता र जटिलता बढेपछि जिल्ला प्रहरी मोरङले सीआईबी र कोशी प्रदेश प्रहरीसँगको सहकार्यमा विशेष टोली गठन गरी अनुसन्धान अभियानलाई ‘अपरेसन जेएजी’ अर्थात अपरेशन जग नाम दिएको थियो।

सीआईबीका दक्ष अनुसन्धान अधिकृतहरूले लामो समय मोरङमै मुकाम बनाएर अनुसन्धान अघि बढाए। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी कवित कटुवालले भने, “३०० भन्दा बढी व्यक्तिको प्रोफाइलिङ, प्राविधिक विश्लेषण, फरेन्सिक अध्ययन र घटनास्थलको सूक्ष्म परीक्षणपछि मात्र हामी अभियुक्तसम्म पुग्यौँ।”

प्रहरीले शंकास्पदहरूमाथि पोलिग्राफ परीक्षणसमेत गरेको थियो।

 पाँच रुपैयाँ दिएर साथी अलग, जंगलमा लगेर हत्या

अनुसन्धान अनुसार असोज २१ मा अंशु आफ्नी साथीको साथमा खेलिरहेकी थिइन्। त्यही क्रममा अभियुक्त अधिकारीले बालिकाको साथीलाई पाँच रुपैयाँ दिएर “दिदीलाई बोलाइदे” भने। साथी गएको मौका छोपेर उनले अंशुलाई “घाँस काट्न सहयोग गर” भन्दै जंगलको मुखतिर बोलाए।

अंशु र पदम अलग–अलग बाटोबाट जंगलको मूल प्रवेशद्वारमा पुगेपछि उनको साइकलमा चढाएर अधिकारीले बालिकालाई करिब ४ किलोमिटर भित्र घना जंगलमा लगे।

“त्यहाँ उनले बालिकामाथि जबरजस्ती करणी गरी प्रमाण खुल्ने डरले घाँटी थिचे र साथमै लगेको खुर्पाले घाँटी काटेर हत्या गरे,” एसपी कटुवालले भने।

हत्यापछि भारत भागे

घटनापछि अधिकारी केही दिन गाउँमै सामान्य जस्तै व्यवहार गर्दै बसिरहे। अंशुको खोजीमा समेत सक्रिय देखिएका उनले प्रहरीले निगरानी कडा पार्दै लगेपछि कात्तिक १९ मा घरबाट कसैलाई नभनी भारतको मेघालयतिर भागेका थिए।

त्यहाँ उनी गाई दुहुने काम गर्दै बसेको तथ्य प्रहरीले पुष्टि गरेको छ। “उनी भारत पुगे पनि हाम्रो प्रणालीले ट्रयाक गरिरहेको थियो। अन्ततः उनी पक्राउ परे,” एसपी कटुवालले बताए।

१२ वर्ष मुनिका बालबालिकामाथि भएको बलात्कारपछि हत्या मुलुकी अपराध संहिता अनुसार आजीवन कारावास योग्य अपराध हो। प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अधिकारीविरुद्ध अधिकतम सजायको माग गर्दै मुद्दा अघि बढाउने तयारी गरेको छ।

लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुको रहस्यमय मृत्युको सत्य बाहिरिएपछि पीडित परिवार र स्थानीय समुदायले न्याय पाउने आशा गरेका छन्।

प्रतिक्रिया