
काठमाडौंमा १९ करोडभन्दा बढी बराबरको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
काठमाडौं – काठमाडौं महानगरपालिका–११ भद्रकाली क्षेत्रबाट प्रहरीले १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी बराबरको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बारा, कलैया–२० घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरिएको हो। प्रहरीले गाेप्य सूचनाका आधारमा खटिएको टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
सेफलाई क्रिप्टो कारोबार गर्न प्रयोग गरेको विभिन्न कम्पनीका दुई थान मोबाइल फोनसहित पक्राउ गरिएको प्रहरीको विवरणमा उल्लेख छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले नेपाली १९ कराेड ८१ लाख ४९ हजार ५८१ बराबरको अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
नेपालमा अभौतिक मुद्राको प्रयोग र कारोबार निषेध गरिएको छ। सोही कसुरमा उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
