
कांग्रेसको नियमित अधिवेशनका लागि दबाब दिन काठमाडौंमा वृहत युवा विद्यार्थी भेला हुँदै
काठमाडौं – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नियमित अधिवेशनमै जाने भन्ने विषयमा बहस चलिरहेकाे छ। यहिबेला आगामी मंसिर १२ गते तीनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना हुन लागेको ‘वृहत् युवा विद्यार्थी भेला’ले पार्टी नेतृत्वलाई स्पष्ट राजनीतिक सन्देश दिने तयारी गरेकाे छ। नियमित अधिवेशन पक्षधर युवाहरूले यही भेलालाई आफ्नो शक्ति प्रदर्शनको मुख्य मैदान बनाईरहेका छन्।
यो भेलालाई केवल औपचारिक कार्यक्रम मात्र होइन, पार्टीभित्रको चलिरहेको विवादबीच युवा पुस्ताको सामूहिक हस्तक्षेपको रूपमा हेरिएको छ। युवानेता र वक्ताहरूका अनुसार पार्टी र संगठनलाई जराभित्रैबाट सुधार्न नियमित अधिवेशन नै व्यवहारिक, संस्थागत र भविष्यनिर्माणको एक मात्र मार्ग हो। उनीहरूका अनुसार विशेष महाधिवेशनले पार्टीभित्रको अविश्वास, तनाव र समूहगत विभाजनलाई झनै गहिरो बनाउने जोखिम बोकेको छ।
नेविसंघका केन्द्रीय सदस्य मनीष जुङ्ग थापाले विशेष महाधिवेशनको वकालत गर्दै आएका नेताहरूलाई समयमै खबरदारी गरेको उल्लेख गर्दै आगामी भेलाबाट नेतृत्वले स्पष्ट सन्देश पाउने दाबी गरेका छन्। उनले भने, “विशेष अधिवेशनको नाममा नयाँ पुस्तालाई पछाडि धकेल्ने र पार्टीलाई विगतकै घेरामा बाँध्ने प्रवृत्ति देखिन्छ। अब युवाले यस्तो राजनीति स्वीकार गर्ने छैनन्।”
त्यो भेलामा नियमित अधिवेशन पक्षधरहरूको उपस्थिति र पार्टीभित्र संगठनात्मक स्थिरता तथा पारदर्शितालाई प्राथमिकता दिनुपर्ने युवाको मागको प्रत्यक्ष प्रदर्शन हुने अपेक्षा गरिएको छ।




कागजपत्र |
