धरानबाट ३१७ किलो गाँजा बरामद


विराटनगर- सुनसरीको धरान उपमहानगरपालिका–४ र १७ क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरअन्तर्गतको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई छुट्टाछुट्टै स्थानबाट गरी ३१७ किलोग्राम गाँजा फेला पारेको हो।

धरान–४ स्थित कोशी लोकमार्गमा चेकजाँचका क्रममा सडकछेउमा बेवारिसे अवस्थामा छाडिएको को.३० प ४५४४ र बा.५१ प ५४१३ नम्बरका दुई मोटरसाइकलमा लोड गरिएको ४९ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। दुवै मोटरसाइकल कसैले त्यागेर फरार भएको आशंका गरिएको छ।

यस्तै, विशेष सूचनाका आधारमा कार्तिक २९ गते प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धरान–१७ स्थित जंगल क्षेत्रमा बोरामा प्याक गरी लुकाएर राखिएको २६८ किलोग्राम गाँजा फेला पारेको छ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा ओसार–पसारमा संलग्न व्यक्तिको पहिचान र खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया